भैरहवा :पछिल्लो समय कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि भारत सरकारले चिनियाँलाई भारत प्रवेशमा रोक लगाएको छ । भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै मुलुकमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो। सरकारले स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति नदिन मातहातका अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ।
प्रतिबन्धको आदेश अघि आगमनको अनुमति लिइसकेको चिनियाँ नागरिकलाई भने भारतमा प्रवेशमा रोक लगाइने छैन। अन्य नयाँ चिनियाँ नागिरकको हकमा भने भिसा वा अगामनको अनुमति दिइने छैन्।
प्रतिबन्धको आदेशसँगै नेपाल आउन लागेका १ सय १३ ताइवानका नागरिकलाई अध्यागमन कार्यालय सोनौलीले सीमामा दुई घण्टासम्म रोकेर सोधपुछ गरेपछि प्रस्थानको अनुमति दिएको थियो।
अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा मात्र ५६३ को मृत्यु भइसकेको छ । चीनमा यसले महामारीको रुप लिएपछि विश्वभर सतकर्ता अपनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण विश्वका २७ देशमा फैलिइसकेको छ ।