काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग– २ अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल ओमानसँग पराजित भएको छ । शृंखलाअन्तर्गत बुधबार भएको पहिलो खेलले ओमानले नेपाललाई १८ रनले पराजित ग¥यो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमानले १९८ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपाल ४६.५ ओभरमा १७९ रनमै समेटियो । नेपालका प्रारम्भिक ब्याट्स्म्यान सस्तैमा समेटिएपछि नेपालले लक्ष्य भेट्टाउन सकेन । ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का लगातार आउट भएपछि नेपाल दबाबमा परेको थियो । नेपालका लागि भरोसा ठानिएका पारस ३ रनमै पेभिलियन फर्किए भने कप्तान ज्ञानेन्द्रले १ रन मात्रै बनाउन सके ।
नेपालका लागि तेस्रा क्रममा ब्याटिङ गर्न आएका शरद भेषावकरले सम्हालिएर खेल्दै अर्धशतक बनाए । उनले ५ चौकाको मद्दतमा ५५ रन बनाए । त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले २ छक्का र ५ चौकाको मद्दतमा ३६ रन जोडे । यसैगरी सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै २७ बलमा २८ रन बनाए । उनले १ छक्का र ३ चौका हिर्काए ।
यसअघि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । ओमानका लागि उसका मोहमद नदिमले अविजित ६९ रन जोडे । नेपालका लागि करण केसीले ४ विकेट लिए । यस्तै एकदिवसीयमा डेब्यू गरेका सुशन भारीले ३ विकेट हात पारे ।