काठमाडौं : वेस्ट इन्डिजका भेट्रान क्रिकेटर क्रिस गेलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा छक्का र चौकाको वर्षा गर्ने भएका छन् । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल क्रिकेट खेल्न उनी नेपाल आउन लागेका छन् ।
विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । पोखराले बिहीबार पत्रकार सम्मेलन गर्दै गेललाई आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेको जनाएको छ । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले ईपीएपल खेल्ने खेलको तय हुनेछ । गेल किङ्स इलाभेन पन्जाबबाट आईपीएल खेल्दै छन् ।
क्रिकेटमा युनिभर्स बोसमा नामले परिचित गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुन् । गेल आईसीसीको टेस्ट, एकदिवसीय र टीट्वेन्टीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि हुन् ।
गेलले वेस्ट इन्डिजबाट एक सय तीन टेस्ट, तीन सय एक एकदिवसीय र ५८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका छन् । वेस्ट इन्डिजले सन् २०१६ को टीट्वेन्टी विश्वकपको उपाधि जित्दा गेल मुख्य खेलाडी थिए ।