काठमाडौ : सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गर्नुभएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उहाँले आजको खेलमा १००औँ गोल गर्नुभएको हो ।
सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गर्नुभएको हो । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उहाँ पहिलो खेलाडी बन्नुभएको छ ।
च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गर्नुभएको हो । पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ । जारी लिगमा उहाँको यो चौथो गोल हो । उहाँले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गर्नुभएको थियो । उहाँले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सक्नुभएन । सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थाल्नुभएको हो ।
पुलिस र च्यासल बराबरी
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् ।
पहिलो हाफमा पुलिसले दुई तथा च्यासलले एक गोल गरेको थियो । खेलको पाँचौँ मिनेटमा पुलिस क्लबका लागि निरकुमार राईले पहिलो गोल गर्नुभएको थियो । खेलको ४० औँ मिनेटमा सुमन लामाले गोल पुलिसका लागि दोस्रो गोल गर्नुभएको हो ।
यसअघि सन्तोष साहुखलले खेलको १८औँ मिनेटमा च्यासलका लागि कीर्तिमानी गोल गर्नुभएको थियो । यससँगै ‘ए’ डिभिजन लिगमा उहाँले व्यक्तिगत १०० गोल पूरा गर्नुभएको छ । ‘ए’ डिभिजन लिगमा १०० गोल पूरा गर्ने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । च्यासलका हेमन्त थापामगरले हानेको फ्रि किक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गर्नुभएको हो ।
मध्यान्तरपछिको खेलमा च्यासलले थप एक गोल गरी पुलिससँग बराबरी ग¥यो । च्यासलका लागि कीर्तिमानी खेलाडी सन्तोषले खेलको ४९औँ मिनेटमा दोस्रो गोल गर्नुभयो । उहाँको यही गोलका कारण पुलिससँगको खेलमा च्यासल हारबाट जोगियो । पटकपटक मौका पाए पनि सन्तोषले ह्याट्रिक गर्न भने सक्नुभएन । उहाँ उक्त खेलको म्यान अफ दी म्याच हुनुभयो । बराबरीसँगै पुलिसले पाँच खेलबाट आठ तथा च्यासलले पाँच खेलमा पाँच अङ्क जोडेको छ । पुलिस लिगको छैटौँ तथा च्यासल नवौँ स्थानमा छ ।
थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । खेलको १५ औँ मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाए । उनले अशोक खवासको पासमा करिब सिक्स यार्ड बक्सभित्रबाट गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाएका हुन् ।
त्यसपछि खेलको ४१ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए । उनले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गरेका थिए । त्यस्तै खेलको ५८ औँ मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थपे । ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९ औँ मिनेटमा एक सानत्वना गोल फर्काए । जीतसँगै थ्रीस्टारले पाँच खेलमा १० अङ्क जोडेर लिगको तेस्रो स्थानमा उक्लियो । पराजित ब्रिगेड ब्वाइज समान पाँच खेलमा छ अङ्कका साथ सातौ स्थानमा छ ।
खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६ औंँ मिनेटमा दिपकराज सिंहले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । थ्रीस्टारका अशोक खवासलाई खराब ट्याकल गरेर लडाएपछि उनले रातो कार्ड पाएका थिए ।