बग्दाद : इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ ।
अमेरिकी र इरानी दुवै तर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण भने आउन बाँकी रहेको जनाएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
“इरानी पक्षले इराकस्थीत कम्तीमा पनि दुई ओटा अमेरिकी सैन्य आधार शिविर र गठबन्धनका कर्मचारी रहेको ठाउँलाई लक्षित गरी आक्रमण गरेको प्रष्ट छ,” पेन्टागनले भनेको छ ।
पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरिएको हो ।
घटनामा परी मानवीय क्षति भएको वा नभएको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले घटनास्थलमा उच्च सतर्कता अपनाइएको जनाएको छ । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको हो ।
गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।
इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ ।
इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ भने अमेरिकाले पनि इरानले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।
अमेरिकी रक्षा अधिकारीहरूले आक्रमण भएको क्षेत्रमा रहेका अमेरिकी सैनिक र गठबन्धनका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन् । त्यसका लागि राष्ट्रपति ट्रम्पले सुरक्षा विज्ञहरुसँग परामर्श गरिरहनु भएको जनाइएको छ ।
इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् । सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले आक्रमण गरेको हो ।