काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । रोमान्चक बनेको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले एक एक गोल गरे । मछिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले एक एक गोल गरे ।
सुरुवाती अग्रता भने साविक विजेता मनाङले बनाएको थियो ।
खेलको दोस्रो मिनेटमा फेमीको गोलमा मनाङले अग्रता बनाएको थियो। उनले एन्फाको प्रतिबन्ध फुकुवा हुँदै मैदान फर्किएका अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए ।
डिस्को काण्डपछि एन्फाको ४५ दिने कारबाही फुकुवा हुँदै अन्जन सोमबारबाट मैदान फर्किएका हुन् ।
पहिलो हाफमा १-० ले पछि परेको मछिन्द्र दोस्रो हाफको सुरुवातमै खेलमा फर्कियो । खेलको ४७ औं मिनेटमा सुजलले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा फर्काए ।
मनाङविरुद्ध आक्रामक खेल खेलेको मछिन्द्रले ८१ औं मिनेटमा एडिलाजाको गोलबाट २-१ को अग्रता बनाएको थियो । तर, खेलको ८८ औं मिनेटमा परिवर्तित खेलाडी विमलले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै मनाङलाई हारबाट जोगाए । खेलमा मछिन्द्रका एडिलाजा म्यान अफ दि म्याच चुनिए ।
एनआरटी र जावलाखेल युथ क्लवले अङ्क बाँडे
सोमबार भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको पाँचाँै चरणको पहिलो खेलमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् । खेलमा विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले एक÷एक अङ्क बाँडेका हुन् ।
खेलमा म्यान अफ दि म्याच जावलाखेलका कप्तान कुलदीप कार्की छानिए । बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमायो । जावलाखेलले यस खेलसँगै नौ अङ्क जोडेको छ । एनआरटीले भने पाँच अङ्क जोडेको छ ।