काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले सरस्वती युवा क्लबलाई २–० गोलले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले दुवै गोल दास्रो हाफमा गरेको हो । पहिलो हाफमा पुलिस र सरस्वतीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा पुलिस १० खेलाडीको भरमा खेल्न पुगेको थियो । पुलिसका अञ्जन राईले रातो कार्ड पाए पछि मैदानबाट बाहिरिनु परेको थियो । दोस्रो हाफमा पुलिसले उत्कृष्ट खेल प्रदर्शन ग¥यो । खेलको ४६औँ मिनेटमा पुलिसका लागि सुमन लामाले गोल गर्नुभएको थियो भने ७९औँ मिनेटमा भोलानाथ सिलवालले गोल गर्नुभयो ।
सिलवालले खेलको अतिरिक्त समयमा अर्को गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने सक्नुभएन् । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसका सुमन लामा हुनुभयो । उहाँलाई गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले ट्रफी वितरण गर्नुभयो । पुलिसले चार अङ्क बटुलेको छ । लगातार तीन खेलमा पराजय भोगेको सरस्वती क्लब अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले पनि हिमालयन शेर्पा क्लबलाई २—० गोलले नै पराजित ग¥यो । आर्मी क्लबका लागि भरत खवास र टेकबहादुर बुढाथोकीले एक÷एक गोल गरे । आर्मी क्लबले पनि दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
आर्मी क्लबले पाँच मिनेटको बीचमा लगातार दुई गोल गरेको थियो । ५७औं मिनेटमा भरतले टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै टेकबहादुरले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।
जारी लिगमा हालसम्म तीन खेल खेलेको आर्मी क्लबको यो दोस्रो जित हो । एक खेलमा भने आर्मी क्लब पराजित भएको थियो । आर्मी क्लबले ६ अंक बटुलेको छ । जितसँगै आर्मी क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाको भने यो पहिलो हार हो । यसअघि दुई खेलमा हिमालयन शेर्पा बराबरीमा रोकिएको थियो ।