काठमाडौं : सन्तोष उपाध्याय नयाँ मिस्टर नेपाल बनेका छन् । बिहीबार राति होटल अन्नपूर्णमा आयोजना भएको ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाध्याय मिस्टर नेपाल बनेका हुन् ।
एक्सपोज नेपालको आयोजनामा भएको प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप बने । यसैगरी प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप बन्न सफल भए । मिस्टर नेपालको कोरियोग्राफी दिग्पाल कार्कीले गरेका थिए । कलाकार तथा निर्देशक कृष्ण मल्ल, विज्ञानराज शर्मा र हालै वल्र्डमा सहभागी अक्षजंग रायमाझीलगायत नौ जनाको निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।
विजेतालाई आयोजक एक्सपोज नेपालकी सीईओ अर्चना थापा, निर्देशक रवीन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
विजेताले मिस्टर वल्र्डलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् ।
एक्सपोज नेपालले मोफसलबाट नयाँ मिस्टर नेपालको खोजी सुरु गरेको थियो । कात्तिक २५ गतेदेखि धनगढीबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणको अडिसन देशका विभिन्न सहरमा गरिएको थियो ।
एक्सपोज नेपालकी सीईयो अर्चना थापा, रवीन्द्र श्रेष्ठ, दीपक शाक्य, दीपराज वर्णवाललगायतले छनोट चरणबाट प्रतियोगी छनोट गरेका थिए ।
१७ वर्षदेखि ३२ वर्ष ननाघेका युवा सहभागी रहने प्रतियोगितामा पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइएको थियो ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।