थारुनाचको आकर्षण

रीता लामा, घोराही
दाङको देउखुरी क्षेत्रका थारु समुदायले नाच्ने ‘बर्कानाच’ पछिल्लो समय जिल्लामा निकै प्रचलनमा छ । जिल्लामा हुने मेला महोत्सव होस् वा कुनै पर्व, दिवस वा ठूला नेता, प्रधानमन्त्री, मन्त्रीहरुको स्वागत सत्कारका लागि दाङमा थारु समुुदायमा प्रचलित नाच प्रस्तुत गरिन्छ । त्यसमध्ये ठूलो अर्थको बर्कानाच पनि एक हो ।
थारु संस्कृतिविद् अशोक थारुका अनुसार बर्कानाच महाभारत कथामा आधारित लोककाव्य हो, महाभारतको युद्ध अभिनय हो । थारु समुदायकोे सबैभन्दा ठूलो यस नाचमा महाभारत युद्धको विषय सामूहिक अभिनयसहित नाचेर प्रस्तुत गरिन्छ । लामो समयदेखि हराएको यो नाच दाङका थारु अगुवा चन्द्रप्रकाश चौधरीको सक्रियतामा विसं २०६४÷६५ साललेखि फेरि सक्रिय रुपमा प्रस्तुत गर्न थालिएको छ । थारु जातिमा बर्कानाच नाचेमा त्यस वर्ष कुनै पनि विपत्ति नआउने विश्वास रहिआएको छ । अहिले हरेकजसो कार्यक्रम, मेला महोत्सव, उत्सव, दिवस, जुलुस आदिमा बर्कानाच देख्न सकिन्छ ।
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन यही पुस १६ गते दाङको बाह्रकुने दहमा हँुदैछ । उद्घाटनका क्रममा पाहुनालाई स्वागत सत्कारका लागि आयोजकले थारुनाचलाई प्राथमिकतामा राखेको छ । जिल्लामा थारुबाहेक, मगर, यादव, नेवार, क्षेत्री समुदायका विभिन्न प्रकारका लोकनाच पनि प्रचलनमा छन् । त्यसमध्ये पनि जिल्लामा सबैभन्दा धेरै प्रस्तुत गरिने र सबैले चासो दिने भनेको थारु जातिका थरीथरिका नाच नै हुन् ।
थारु जातिकै अर्को नाच लठ्वानाच पनि हो । यो नाच पनि देउखुरी उपत्यकाका थारु समुदायका युवा चाडपर्व, मेला, उत्सवका समयमा पिठ्युँमा मयूरको प्वाँख बाँधेर हातमा एक मिटर जति लौरो लिएर एकार्काको लौरो ठोकाएर मादलको तालमा यो नाच्ने गर्छन् । मगर जातिमा नाचिने सरङ्ङेनाच र थारु जातिको लठ्वानाच बीच धेरै समानता छ । यहाँका संस्कृतविद्ले यस नाचलाई पर्यटक आर्कषण गर्ने लोकनृत्यका रुपमा लिने गर्छन् । लोकसंस्कृतविद् डा गोविन्द आचार्य जिल्लाको पर्यटन प्रवद्र्धनमा लठवानाचको भूमिका धेरै रहेको बताउनुहुन्छ । लठ्वानाचका लागि कुनै चाडपर्व कुर्न नपर्ने, जुनसुकै समयमा पनि नाच्न सकिने र अलि उत्ताउलो खालको भएको हुँदा नाच्ने युवा र हेर्ने दर्शक दुवै आकर्षित हुने गरेको उहाँको अनुभव छ ।
दाङ उपत्यकामा थारु जातिको अर्को ‘सख्यापैैयाँ नाच’ पनि हो जसमा दशैँमा थारु युवाको सहभागिता हुन्छ । थारु संस्कृतविद् अशोक थारु सख्यापैया ‘भागवत पुराण’मा आधारित नाच भएको बताउनुहुन्छ । “यसमा मानव सृष्टिको विषयदेखि कृष्णकथासमेत समेटिएको हुन्छ”, उहाँले भन्नुभयो “थारु युवतीहरु गोपिनी र युवाहरु कृष्णका रुपमा मादल बजाउँदै सहभागी हुन्छन् ।” यो कृष्णाष्टमी र दशैँमा गाउने नाच्ने गरिन्छ । संस्कृतिविद् थारुका अनुसार दाङको थारु जातिको ज्यादै महत्वपूर्ण साङ्गीतिक सामग्री र तिनको लोकजीवन अध्ययन गर्नका लागि यो महत्वपूर्ण छ जुन ग्रामीण पर्यटनका लागि आकर्षण बन्न सक्छ । जिल्लामा व्यावसायिक थारु ग्रामको स्थापना गरी यस्ता नाच देखाउन सके ग्रामीण पर्यटकको चाप बढ्न सक्ने उहाँको विश्वास छ ।
जिल्लाका सबैजसो धार्मिकस्थलमा लाग्ने मेलामहोत्सवमा थारु जातिका युवा आआफ्नो वेशभूषामा नाचगान गर्ने र पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको छ । आफ्नो वेशभूषमा सजिने अनि लोकनाच प्रस्तुत गर्ने क्रम मौलाउँदै जान थालेको छ ।
यसबाहेक थारु जातिमा सङ्खिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । यस्तै जहिलेसुकै नाचिने छोक्रानाच, हातमा रङ्गीबिरङ्गी टालो बाँधेर नाचिने झुम्रानाच, हुदुङ्ग्यानाच, मयूरनाच पनि नाचिन्छ ।
केही वर्षयता जिल्लाका सबैजसो ठाउँमा मेलामहोत्सव पनि लाग्ने र जाति विशेषले आफ्नो मौलिकता देखाउने खालको कार्यक्रम गर्ने प्रचलन बढेको हुँदा थारु समुदायको कला, संस्कृति र मौलिक नाचले ठाउँ पाएको थारु अगुवाको भनाइ छ । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी दुईतीन वर्षदेखि थारु समुदायको नाच व्यापक रुपमा चलनचल्तीमा आएको बताउनुहुन्छ । “पछिल्लो समय सांस्कृतिक कार्यक्रम गर्ने जमात बढेको हुँदा लोकनाचहरुले निरन्तर मञ्च पाइरहेका छन् ”, उहाँले भन्नुभयो, “गाउँघरमा पनि युवकयुवतीहरु क्लब, समूह, सङ्घसस्था गठन गरेर मौलिक नाच सिक्ने, वेशभूषामा सजिने क्रम बढेको छ ।” उहाँका अनुसार स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि लोककलाले अलि बढी ठाउँ पाएको छ । जनप्रतिनिधि वा स्थानीय सरकार आफैँले चासो नदिए पनि कलासंस्कृतिका अगुवाले आग्रह गरेपछि लोकसंस्कृति जगेर्नाका लागि स्थानीय सरकारले यसमा चासो दिएको उहाँ बताउनुुहुन्छ ।
रासस 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments