काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्तीमगरसहित चार खेलाडीमाथि लगाएको प्रतिबन्ध कारबाहीको समय केही घटाएको छ । विश्वकप छनोट फुटबलअन्तर्गत भुटानमा कुवेतसँग खेल्न जाने अघिल्लो दिन विमलसहित अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी रात्रि क्लब पुगेका थिए ।
बन्द प्रशिक्षण क्यापबाट भागेर रात्रि क्लबमा गएका खेलाडीलाई एन्फाले तत्काल टोलीबाट बर्खास्त गरेको थियो । यी चार खेलाडीलाई पछि एन्फा अनुशासन समितिले जनही ५० हजार रुपैयाँ जरिवानासहित अञ्जन र सन्तोषलाई ४५ दिन र विमल र दिनेशलाई ९० दिन प्रतिबन्धको कारबाही गरेको थियो ।
उक्त कारबाहीमाथि खेलाडीले एन्फाको अपिल कमिटीमा अपिल गरेका थिए । खेलाडीको अपिलपछि एन्फाले मंसिर २७ गतेबाट कारबाही गर्ने पूर्वनिर्णयलाई सच्याउँदै कात्तिक ३० गतेबाट लागू हुने जनाएको छ ।
खेलाडीलाई भुटान प्रस्थान गरेको दिन कात्तिक ३० खेलबाटै लागू हुनेगरी कारबाही गरिएको हो । खेलाडीलाई आर्थिक जरिबाना भने यथावत् राखिएको एन्फाद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । नेपालले कुवेतसँग मंसिर ३ गते छनोट खेल खेलेको थियो । उक्त खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको थियो ।