रिब्सको विजयी सुरुवात

काठमाडौं : प्रथम वेस्ट काठमाडौं अन्तरविद्यालय फुटबल प्रतियोगितामा रिब्स स्कुलले विजयी
सुरुवात गरेको छ ।
नयाँ नैकापस्थित फुटबल मैदानमा बुधबार भएको उद्घाटन खेलमा रिब्सले मनकामना स्कुललाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । रिब्सलाई प्रभावशाली जित दिलाउन एर्लिक क्षत्री एक्लैले दुई गोल गरे ।
नयाँ नैकापको वेस्ट काठमाडौं फुटबल क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा उपत्यकाका १६ विद्यालयको सहभागिता रहेको क्लबका अध्यक्ष सुन्दर थापाले जानकारी दिए । उनले खस्किँदै गएको फुटबलको स्तर बढाउन र ग्रासरुटबाटै दक्ष खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
आगामी पुस ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू नकआउटका आधारमा सञ्चालन हुनेछन् ।
प्रतियोगिताको बुधबार गैर आवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार गोविन्द सुवेदीले उद्घाटन गरे । उनले विद्यालयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिता सहायकसिद्ध हुने विश्वास
व्यक्त गरे ।
प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले १५ हजार र प्लेयर प्ले टोलीले १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब पाँच लाख खर्च हुने क्लबले जनाएको छ । प्रतियोगितालाई काष्ठमण्डप कलेजले मुख्य प्रायोजन गरेको क्लबले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट केही खेलाडी छनोट गरी क्लबले आफ्नै खर्चमा नियमित प्रशिक्षण गराउने उद्घाटन कार्यक्रममा अध्यक्ष थापाले जानकारी दिए । उनले प्रतियोगितामा विद्यालयहरुको उत्साहप्रद सहभागिता रहेकाले आगामी वर्ष पनि निरन्तरता दिने बताए । वेस्ट काठमाडौं फुटबल क्लबले स्पेनको चर्चित क्लब एट्लेटिको म्याड्रिडसँगको सहकार्यमा ८० जनालाई प्रशिक्षण गराउँदै आएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments