काठमाडौं : ‘किड क्विन नेपाल– २०१९’ को उपाधि रशु पन्तले जितेकी छन्। नेप्लिज फेसन होमले आयोजना गरेको उक्त प्रतियोगितामा २१ जना प्रतियोगीले भाग लिएका थिए। रशुले नगद १० हजार रुपैयाँ राशिसँगै आकर्षक मुकुटका साथमा विभिन्न उपहारसमेत प्राप्त गरिन्।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न १७औं संस्करणको उक्त प्रतियोगितामा रोशिका लामाले फस्ट रनरअपको तथा कृष्मा ढुंगानाले सेकेन्ड रनरअपको उपाधि जित्न सफल भइन्।
समारोहमा सोसियल वेलफेयरको उपाधि सान्भी बानियाँले, मिस ट्यालेन्टको उपाधि सुप्रिया विष्टले, मिस फ्रेन्डसिपको उपाधि निशा विकले, मिस स्माइलको उपाधि स्नेहा रजकले, मिस पर्सनालिटीको उपाधि रीतिका थापाले, मिस क्याटवाकको उपाधि मनीषा राईले, मिस कल्चरको उपाधि प्रकृना प्रधानांगले जित्न सफल भए।
त्यस्तै पब्लिक च्वाइसको उपाधि सुप्रिया तामाङले जितिन् भने बेस्ट ड्रेसको उपाधि सरु खोटेजूले, मिस डिसिप्लेनको उपाधि प्राची किबनायोले, बेस्ट हेयरको उपाधि स्नेहा प्रजापतिले, मिस एलिगेन्टको उपाधि श्रीया जराजुले, बेस्ट स्किनको उपाधि आयुशा वाइवाले, तथा मिस चार्मिङको उपाधि निमिशा श्रेष्ठले जित्न सफल भए।
नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि आफूहरूले हरेक वर्ष काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका बालिका तथा किशोरीबीच यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन्।
रोजिन शाक्यद्वारा सञ्चालित उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निर्णायकमा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्षत्री, मार्सल आर्टका गुरु अशोककुमार श्रेष्ठ, नेपाल एयरलाइन्स कर्पोरेसनका अच्युतराज पहाडी, गायिका लसता जोशी, मेकअप आर्टिस्ट मञ्ज कार्की पाण्डे तथा व्यवसायी रोशन सायमी थिए।