काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुदको समापन उद्घाटनभन्दा छोटो हुने भएको छ। समापन कार्यक्रम भव्य र छोटो हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए।
‘दशरथ रंगशालामा नेपाल र भुटानबीचको फुटबलअघि दिउँसो १२ः०० बजे संसद्–११ र राष्ट्रसेवक–११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। ३ः०० बजे फुटबलको फाइनलपछि खेलाडीको मार्चपास सुरु हुनेछ। मार्चपास सकिएपछि सार्कको १४औं संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ। पाकिस्तालले सांस्कृतिक कार्यक्रम गरेमा उसलाई ३० मिनेटको समय छुट्ट्याइएको छ’, सिलवालले भने।
समापन समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहनेछ। समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपमा सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिले सम्बोधन गर्नेछन्।
राखेपले दशरथ रंगशालाको क्षमतालाई ध्यानमा राखेर साधारण प्यारापिटमा आठ हजार र भीआईपी प्यारापिटमा एक हजार मात्र दर्शक टिकट बिक्री गरेको छ। टिकट मूल्य साधारण प्यारापिटको एक हजार र भीआईपीएको दुई हजार राखिएको बताइएको छ।
यसैगरी समापनका अवसरमा नेपाल भ्रमण वर्षको केही कार्यक्रमसहित आतसबाजी गरिनेछ। यसैगरी राखेपका सदस्यसचिव सिलवालले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहनसहित विशेष सम्बोधन गर्ने जानकारी दिए।