काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् ।
ओलम्पियन गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । योसँगै गौरिकाले लगातार दोस्रो दिन स्वर्ण जितेकी छिन् । बिहीबार गौरिकाले महिला २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । गौरिका सागको पौडीमा व्यक्तिगत विधामा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनिन् ।
अब गौरिकाले ६ स्पर्धामा प्रतिस्पर्धा गर्ने छिन् । भारतमा भएको १२ औं सागमा गौरिकाले १ रजत र दुई कास्य जितेकी थिइन् । यस स्पर्धामा भारतकी मनु राजिब पटेलले २ मिनेट २०.७१ सेकेण्डको समय निकाल्दै रजत जितिन् ।
श्रीलंकाकी गंगासेनले २ मिनेट २७.२५ सेकेण्डको समय सहित कास्य जितिन् । गौरिकाले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ । शुक्रबार पाँच हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण जिते । स्वर्ण जित्ने क्रममा गोपीले निर्धारित दुरी १४ मिनेट ५४।२० सेकेन्डमा पूरा गरे । पार्कीले जितेको स्वर्ण नेपालले मध्यम दूरीको दौडमा जितेको पहिलो स्वर्ण पदक हो ।
भारोत्तोलनमा नेपालका विकास थापाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । पुरुष ८९ केजी तौल समूहमा विकासले स्वर्ण जितेका हुन् । विकासले स्न्याचमा १ सय २३ र क्लिन एन्ड जर्कमा १ सय ४६ गरी कुल २ सय ६९ केजी भार उठाए ।
विकासले भारतमा भएको १२ औं सागमा रजत जितेका थिए । विकास भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने तेस्रो खेलाडी बने । यस्तै दोस्रो पुरुष खेलाडी बने । सागमा यसअघि कमल बहादुर अधिकारी मात्र स्वर्ण जितेका थिए ।
यसैगरी गल्फमा नेपालले ऐतिहासिक दुई वटा स्वर्ण पदक जितेको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा शुक्रबार सम्पन्न खेलमा नेपालले पु्रुष एकल र पुरुष टिम स्पर्धामा दुई स्वर्ण जितेको हो । साग गल्फमा नेपालले पहिलो पटक दुईवटा स्वर्ण पदक जितेको हो । गल्फको पुरुष एकलमा नेपालका लागि सुवास तामाङले स्वर्ण दिलाए । टिम स्पर्धामा सुवास सम्मिलित नेपाली टोलीले स्वर्ण चुम्यो । चार दिनको ७२ होलमा सु्वासले कुल १४ अन्डर दुई सय ७४ स्कोर खेलेका थिए । गल्फको अन्तिम दिन शुक्रबार सुवासले तीन अन्डर ६९ खेले ।