हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३आँै दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा नेपाली खेलाडीले गर्नुभएको उच्च प्रदर्शनको उच्च प्रशंसा गर्नुभएको छ । आज एक सन्देशमार्फत उहाँले नेपालले सागको शुरुआत अत्यन्तै सुखद् ढङ्गले गरेको र यसक्रममा नेपाली खेलाडीले उच्च प्रदर्शन गरेको जनाउनुभएको छ ।
सन्देशमा खेलक्षेत्रको विकास र विस्तार गर्न प्रदेश सरकारले उच्च प्राथमिता दिएको उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ, “हालसम्म नेपाली खेलाडीको प्रदर्शन अत्यन्तै सुखद् रहेको छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हँुदै विभिन्न पदक जित्न सफल सबै खेलाडीलाई हार्दिक शुभकामना दिन चाहन्छु । बाँकी खेलबाट सफल हुने विश्वासका साथ सबै खेलाडीलाई अग्रिम शुभकामना ।”
“प्रदेश सरकार खेलकूदको दीर्घकालीन विकासका लागि नीतिगतरूपमा नै लागिरहेको छ । प्रदेशमा एक अन्तरराष्ट्रियस्तरको खेलकूद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रङ्गशाला एवं स्थानीय तहमा खेलमैदान स्थापना व्यवस्थापन, सबै विद्यालयमा खेलमैदानको व्यवस्था र निर्वाचन क्षेत्रहरुमा कभर्डहल निर्माणकार्य भइरहेको छ । आगमी दुई वर्षमा भौतिकरूपमा हामी सक्षम हुनेछौँ, अनि प्रदेश सरकारले खेलाडीको व्यावसायिक जीवनको संरक्षण पनि गर्नेछ”, सन्देशमा भनिएको छ ।