काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार नेपालले आठ स्वर्ण जितेको छ । नेपालले मंगलबार उसुमा दुई स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् ।
थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अंक हासिल गर्दै स्वर्ण जिते । बंगलादेशका मोहमद उमरले ९.३४ अंकका साथ रजत र भारतका अन्जुलले ९.१६ अंक बटुल्दै कांस्यमा सीमित भए ।
महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारिन् । सुस्मिताले ९.४४ अंक जोड्दै स्वर्ण जितिन् । रजत जितेका श्रीलंकाका पीएचजी वत्सलाले ८.८५ अंक जोडिन् भने कांस्य पदकमा सीमित भएकी बंगलादेशकी नुर बेहर बेगमले ७.५९ अंक मात्रै जोड्न सकिन् ।
यसैगरी पोखराको फेवाताल किनारमा मंगलबार भएको दुवाथलनमा नेपालका हिमाल टमटाले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दूरी ५७ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
नेपालकै लक्ष्मण मल्ल टमटाभन्दा दुई मिनेट २० सेकेन्डले पछि पर्दै रजतमा चित्त बुझाए । नेपालसहित भारत र श्रीलंका सहभागी प्रतिस्पर्धामा श्रीलंकाका आसिथ परेराले निर्धारित दूरी ५९ मिनेट ३२ सेकेन्डमा पार गर्दै कांस्य पदक जिते ।
पाँच किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र साढे दुई किलोमिटर दौडमा नेपालले एक स्वर्णसहित तीन पदक हात पा¥यो । अर्को रजत भने महिलातर्फ नेपालकी हुमी बुढामगरले जितिन् । श्रीलंकाकी एरेङ्गा दुलाक्सिले निर्धारित दूरी एक घन्टा पाँच मिनेट ५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा हुमी बुढामगर दुलाक्सिभन्दा तीन मिनेट चार सेकेन्डले पछि परिन् । श्रीलंकाकै उदय कुमारीले एक घन्टा नौ मिनेट नौ सेकेन्डका साथ कांस्य जितिन् ।
यसैगरी सोमबार ७ स्वर्ण जितेको तेक्वान्दोले मंगलबार थप दुई स्वर्ण जित्यो । तेक्वान्दोको दोस्रो दिन नेपालका लागि काजल श्रेष्ठ र वीरबहादुर महराले स्वर्ण हात पारे । महिला ४६ केजी तौलसमूहको फाइनलमा काजलले पाकिस्तानी खेलाडी सैयदजादी सिद्रा बातुललाई पराजित गर्दै स्वर्ण चुमेकी हुन् । उक्त स्पर्धामा भारतकी राधा भाटी र श्रीलंकाकी इशरा पुमालिसामराकुनले कांस्य पदक हात पारे ।
पुरुष ६८ केजी तौलसमूहको फाइनलमा नेपालका वीरबहादुरले पाकिस्तानका मुहम्मद फाहिमलाई पराजित गरे । उक्त स्पर्धामा श्रीलंकाका थारंगा लकमल र भारतका पृथ्वीराज चौहानले कांस्य पदक प्राप्त गरे । मंगलबार नेपालले एक रजत र एक कांस्य पदक पनि हात पा¥यो ।
यसैगरी करातेमा पनि नेपालले मंगलबार दुई स्वर्ण हात पा¥यो । नेपालकी सुनिता महर्जनले महिला कुमुतेको ६८ केजीमुनि स्वर्ण जितिन् । सुनिताले पाकिस्तानी खेलाडी कुल्सुमलाई ८–२ अंकले अपराजित गरिन् । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कांस्य जित्यो । यसैगरी अर्को स्वर्ण नेपालका नवीन रसाइलीले जिते । उनले फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरे ।
यसैगरी एथलेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । दशरथ रंगशालामा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डको समय निकालिन । भारतकी कविता यादवलाई ०.०१ सेकेन्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । कविताले ३५ मिनेट ०७.९५ को समय निकालिन । कांस्य जितेकी श्रीलंकाकी निलान्थीले ३५ मिनेट ५९.०२ सेकेण्डको समय निकालिन । साग इतिहासमा नेपालको महिला एथलेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।
Previous Article
राष्ट्रिय खेलमा रजतमै सीमित
Next Article