काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको महिला भलिबलमा नेपाल उपविजेतामा समेटिएको छ। महिला भलिबलको उपाधि भारतले उचालेको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा दुई सेट जितेको नेपाललाई पछि पार्दै भारतले उपाधि उचालेको हो।
पहिलो सेटमा भारतसँग १९-२५ ले पराजित भएको नेपाल दोस्रो र तेस्रो सेटमा विजयी भएको थियो। यद्यपी चौथो र पाँचौ सेटमा लगातार भारतले जित दर्ता गरेको हो। दोस्रो सेटमा भारतमाथि २५-२३ ले विजयी भएको नेपालले तेस्रो सेटमा २५-२१ को जित दर्ता गरेको थियो। चौथो सेटमा भारतले २५-२० ले जित दर्ता गर्यो भने पाँचौ सेटमा १५-६ ले जित निकाल्दै उपाधि उचालेको हो।
नेपाल श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै फाइनल पुगेको थियो। शनिबार दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटको जित निकालेको थियो।
भारत सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३-० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। समूह चरणको खेलमासमेत नेपाल भारतसँग पराजित भएको थियो। भारतसँग पराजित भए पनि समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। फाइनलको पहिलो सेट भारतले जितेको छ।