काठमाडौं : जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् । बुधबार रातिदेखि मौन अवधि सुरु हुने भएपछि त्यसअघि नै जनता आकर्षित गर्न उनीहरु दिनरात खटिरहेका छन् । दलहरुले बुधबार दिउँसोसम्म मात्र आमसभा तथा प्रचारप्रसार गर्न पाउने छन् । सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेतृत्व भने मंगलबार नै चुनावी सभा सम्पन्न गरी राजधानी फकिएसकेको छ ।
कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हँुदैछ । दलहरूले बुधबार भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन् । नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने छ । यस्तै उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरेर मंगलबार काठमाडौं फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुधबार भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्नेछन् । देउवाले पोखरा, बागलुङ, दाङ र धरानका चुनावी सभालाई सम्बोधन गरेका थिए ।
भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) को संयुक्त चुनावी सभा छ । सभामा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सम्बोधन गर्दैछन् ।
उपनिर्वाचनलाई दुई तिहाइको नेकपा सरकारले जनभावना बुझ्न र विपक्षी कांग्रेसले जनता मन फर्केको वा नफर्केको बुझ्न खोजेको छ । वडाअध्यक्ष तहसम्मको चुनावलाई प्रभाव पार्न प्रमुख दलका वरिष्ठ नेताहरु नै खटिएका छन् । कास्की–२, भक्तपुर १ (१), बागलुङ २ (२ ) र दाङ ३ (२) मा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका छन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदैछ ।
उपननिर्वाचनमा एक सय एक दलले भाग लिँदै छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन् । ०७४ को निर्वाचनपछि थपिएका १६ हजार दुई सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन् । आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार एक सय १४ छ । मतदानका लागि दुई सय ४७ मतदान स्थल र पाँच सय ३७ मतदान केन्द्र तोकिएका छन् । शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच निर्वाचन आयोगले सुरक्षासहित निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । आयोग प्रवक्ता नरेन्द्र दाहालले बिहीबारभित्र उपनिर्वाचन हुने सबै स्थानमा मतपत्र, परिचयपत्रसहित सबै सामग्री बोकेर मतदान अधिकृत पुग्ने बताए । बुधबार राति १२ बजे मौन अवधि सुरु हुने भएकाले उक्त अवधिलाई निकै संवेदनशील रुपमा लिइएको दाहालले बताए ।