भैरहवा : प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको र संघीय सरकारले सन २०२० लाई भम्रण वर्षको रूपमा मनाउने तयारीको पूर्व सन्ध्यामा बाह्य पर्यटकको आगमनमा कमी आएको छ।
स्थलमार्गको बेलहिया त्रिभुवन विमानस्थलपछि सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने नाका हो। यस नाकाबाट एक सयभन्दा बढी मुलुकका विदेशी पर्यटक आउने गर्छन्। सन् २०२० आउन करिब एक महिना छ। तर, रूपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको संख्या घटेको छ।
अध्यागमन कार्यालय बेलहियाको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा चालु वर्ष सन २०१९ मा पर्यटकको संख्यामा कमी आएको छ। पर्यटक आगमनको तथ्यांकलाई विश्लेषण गर्दा लुम्बिनी भम्रण वर्ष वा नेपाल भ्रमण वर्ष २०२० को प्रभाव देखिँदैन।
यस नाकाबाट आउने अधिकांश बाह्य पर्यटक लुम्बिनी दर्शनका लागि आउँछन्। ‘अहिले संख्यामा कमी भए पनि पर्यटकको आगमन विगतजस्तै लुम्बिनी दर्शनको टे«न्डमा छ’, अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले अन्नपूर्ण पोस्ट्सँग भने, ‘भ्रमण वर्षमा पर्यटक बढेका छैनन्।’
अध्यागमन कार्यालयका अनुसार २०१८ को अक्टोबर महिनासम्म यस नाकाबाट एक लाख २२ हजार ७ सय ८५ बाह्य पर्यटकको आगमन भएको थियो भने सन् २०१९ को अक्टोबरसम्म एक लाख २० हजार ४ सय ५७ पर्यटक आएका छन्।
सन २०१८ मा कुल एक लाख ६६ हजार २ सय ३५ पर्यटकको आगमन भएको थियो। पछिल्लो पाँच वर्षमा बाह्य पर्यटकको संख्या वृद्धि हुँदै गए पनि यसै वर्षमात्र संख्यामा कमी हुने सम्भावना छ।
स्थलमार्गको बेलहिया त्रिभुवन विमानस्थलपछि सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने नाका हो।
बेलहिया नाका हुँदै सबैभन्दा बढी श्रीलंकन पर्यटक आउने गर्छन्। उनीहरूको आगमनको कमीले पनि यस वर्ष पर्यटक संख्यामा कमी भएको हो। श्रीलंकामा राष्ट्रपति निर्वाचन र बम विष्फोेटका कारण अधिकांश श्रीलंकन पर्यटकले भ्रमण रद्द गरेको अध्यागन प्रमुख खनालले बताए।
सन् २०१८ को अक्टोबरसम्म ४९ हजार ७ सय ९३ श्रीलंकन पर्यटक यस नाकाबाट आएका थिए भने यस वर्षको अक्टोबरसम्म ४७ हजार १ सय ८९ पर्यटक मात्र आएका छन्। श्रीलंकन पर्यटक बढी नोभेम्बरमा आउने गर्छन्। तर यस नोभेम्बर महिनामा पनि श्रीलंकन कम छन्।
बेलहिया नाकाबाट यस वर्ष मार्च महिना सबैभन्दा बढी २७ हजार १४ र सबैभन्दा कम जुनमा ८ सय ७२ जना पर्यटक भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ। सन् २०१९ मा सबैभन्दा बढी अगस्टमा श्रीलंकन पर्यटक आएका छन्।
यस नाका हुँदै थाइल्यान्ड, कम्बोडिया, चीन, साउथ कोरिया, म्यानमार, भियतनामलगायत मुलुकका बढी पर्यटक भित्रिने गरेका छन्।
लुम्बिनी दर्शनका लागि यी मुलुकबाट बढी पर्यटक भित्रिने गरे पनि केही दिनभित्रै उनीहरू प्रस्थान गर्छन्। सन २०१९ को अक्टोबरसम्म एक लाख २० हजार ४ सय ५७ पर्यटक भित्रिए पनि सोही अवधिमा यस नाकाबाट एक लाख ११ हजार ९ सय ५० पर्यटक प्रस्थान गरे।
नेपाल सरकारले वर्ष २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरी प्रचारात्मक अभियान सुरु गरेको धेरै भइसकेको छ। तर, पर्यटकको बसाइ लम्ब्याउन स्थानीय वा सरकारी स्तरबाट कुनै प्याकेज नहुँदा उनीहरूको बसाइ लम्बिन नसकेको सरोकारावाला बताउँछन्। सबैभन्दा बढी पर्यटक श्रीलंकाबाट आउने गरे पनि उनीहरू सोही दिन साँझ वा भोलिपल्ट फर्किने गरेका छन्।