लमही : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ ।
दाङमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्य मुद्दा अहिलेको अवस्थामा गौण भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्शा सार्वजनिक गरेकाले यसलाई गम्भीरतापूर्वक सरकारले लिनुपर्ने बताउनुभयो ।
“सरकारकै नेतृत्वमा यस विषयमा संवाद हुनुपर्छ, कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ, यो विषयमा काँग्रेस सरकारको साथमा छ, सरकारले गम्भीर ढङ्गले कूटनीतिक पहल गर्नुपर्छ”, शर्माले भन्नुभयो । उहाँले काँग्रेस सरकारमा रहेका बेला पनि भारतीय सेना कालापानीमा भएको र त्यो बेला देशमा विभिन्न समस्या रहेका कारण समस्या समाधान गर्न नसकिएको स्पष्ट पार्नुभयो ।
“अहिले मुलुकमा दुई तिहाइको सरकार छ, त्यसमा पनि काँग्रेसले समर्थन गरेपछि सबै नेपाली एक ठाउँमा उभिएका बेला सीमा विवाद मिलाउनुपर्छ”, उहाँले भन्नुभयो, “यो विषयमा प्रतिपक्ष र सिङ्गो देश सरकारको पक्षमा रहेकाले ढिला गर्नु हुँदैन ।”