स्पोर्ट्स सर्कलले १३औं दक्षिण एसियाली खेलकुद (साग) को विशेष प्रशिक्षणमा रहेका उसु खेलाडीलाई खेल पोसाक सहयोग गरेको छ । सागको प्रशिक्षणमा रहेका उसुका ३० खेलाडीलाई सर्कलले खेल पोसाक उपलब्ध गराएको हो । स्पोर्ट्स सर्कलका निर्देशक दीपक लामाले चर्चित उसु खेलाडी नीमा घर्तीमगरलगायत खेलाडीलाई पोसाक हस्तान्तरण गरेका थिए । स्पोर्ट्स सर्कलले खेलाडीलाई करिब एक लाख बराबरको खेलकुद पोसाक उपलब्ध गराएको थियो ।
दक्षिण एसियाली राष्ट्रहरुबीचको बृहत खेल मेलाको तयारीमा व्यस्त खेलाडीको हौसला बढाउन पोसाक उपलब्ध गराएको स्पोर्ट्स सर्कलका निर्देशक दीपक लामाले बताए । लामा सागमा सहभागी नेपाली उसु टोलीको टिम व्यवस्थापक पनि हुन् । नेपाल उसु महासंघका उपाध्यक्षसमेत रहेका लामाले यसअघि पनि थुप्रै खेलका खेलाडीको हौसला बढाउन पोसाक उपलब्ध गराउँदै आएका छन् ।
‘बृहत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन सकियो भने मात्र उनीहरुबाट उत्कृष्ट प्रदर्शनको आशा गर्न सकिन्छ’, निर्देशक लामा भन्छन्, ‘म आफै पनि उसु टोलीसँग जोडिएकाले पनि खेलाडीलाई सहयोग गरेको हुँ । खेलाडीको हौसला बढाउन एकै पटक ठूलो सहयोग गर्नुपर्छ भन्ने छैन । साना साना सहयोगबाट पनि उनीहरुको हौसला बढाउन सकिन्छ ।’
उनले खेल पोसाक बाहेक पनि खेलाडीको हितमा विभिन्न सहयोग गर्दै आएका छन् । खेलाडीको आपतविपतमा पनि लामाले निरन्तर सहयोग गर्दै आएका छन् । खेलाडीसँग संधै नजिक रहँदा उनीहरुको दुःख र पीडा बुझेकाले निरन्तर रुपमा सहयोग गर्दै आइरहेको उनले बताए ।
Previous Article
मन्त्रिमण्डल पुनर्गठन लम्बिने
Next Article