प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ । मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि मंगलबार दुई शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ ।
सोमबार नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा जानकारी गराउन शीतल निवास जाने तयारी थियो । तर अध्यक्षद्वयबीच सहमति नभएपछि कार्यक्रम रद्द भएको थियो । आफ्ना निकटस्थ र आफन्तलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा दुई नेताबीच सहमति हुन नसक्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भइरहेको बुभmिएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीतर्फबाट मन्त्री बनेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री विना मगरको सट्टा नयाँ मन्त्री नियुक्ति गर्न खोजेका छन् । उनी पूर्वएमालेबाट पनि महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा, भूमिसुधारमन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमध्ये केही मन्त्रीलाई पदमुक्त गर्ने योजनामा छन् ।
पूर्वमाओवादी समूहबाट मन्त्री बनेका खानेपानीमन्त्री मगरका विषयमा सोमबार दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा पुनर्गठनमा ढिलाइ भएको बालुवाटार स्रोतको भनाइ छ । छलफलमा ओलीले मगरलाई हटाउने, मन्त्रालय फेर्ने वा उनलाई मन्त्रिपरिषद्बाट झिक्दा दाहालले प्रस्तावित गरेका पूर्वएमालेतर्फका एक मन्त्रीलाई झिक्नेसम्मका प्रस्ताव गरे पनि दाहाल सहमत नभएको बालुवाटार स्रोतको भनाइ छ । दुई अध्यक्षबीच सहमति जुट्न समय लाग्ने भएकाले मन्त्रिमण्डल पुनर्गठनमा पनि ढिलाइ हुने भएको छ । आइतबारको पार्टी सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने ‘सैद्धान्तिक सहमति’ भएको थियो । सचिवालय बैठकको उक्त कार्यादेशअनुसार अध्यक्षद्वय मन्त्रिमण्डल पुनर्गठन तयारीमा लागेका हुन् । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको २१ महिनापछि आपूm नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्। संसद्मा नेकपाकै झन्डै दुईतिहाई मतका साथ ओलीले २०७४ फागुन ३ देखि सरकारको नेतृत्व गरिरहेका छन् ।
दुई अध्यक्षसँग बेग्लाबेग्लै छलफलमा सहभागी नेताहरुले मन्त्रिपरिषद् पुनर्गठन गर्दा पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन, समावेशी बनाउन, क्षेत्रीय प्रतिनिधित्व मिलाउन, योग्य र सक्षमलाई समावेश गरी अगाडि बढ्ने गरी निर्णयमा पुग्न दुवै अध्यक्षले भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।
कार्यसम्पादन राम्रो देखाउन नसकेका मन्त्रीलाई बिदा गरेर प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठन गर्न चाहिरहेका छन् । यसो गर्दा उनले बहालवाला र दोहोरिने केही मन्त्रीको जिम्मेवारी पनि हेरफेरको तयारी गरेको बुझिएको छ । उपसभामुख शिवमाया तुम्बाहाफेलाई राजीनामा गराई मन्त्री बनाउने योजनामा प्रधानमन्त्री छन् । उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउँदा नेकपालाई सभामुखका लागि बाटो खुल्नेछ । सचिवालयले मन्त्री हेरफेरको सैद्धान्तिक सहमति दिएपछि भने आकांक्षीले लबिङ गरिरहेका छन् । बिदा पाउने सम्भावित सूचीमा आफ्नो नाम परेर सञ्चारमाध्यममा सार्वजनिक भइरहेका मन्त्रीहरुले भने आफूलाई बिदाइ गुर्नपर्नाको कारण नेतृत्वले दिनुपर्ने बताइरहेका छन् ।