काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।
डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुने प्लेअफका लागि क्यानले अनुभवी र युवा खेलाडीलाई समेटेको छ । टोलीमा सन्दीपसँगै पूर्वकप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, करण केसी र ललितनारायण राजवंशीजस्ता अनुभवी खेलाडी छन् । यस्तै युवा खेलाडी अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, रासिद खान, गुलसन झा, बसिर अहमद, नन्दन यादव र अभिषेक गौतमलाई पनि मौका दिइएको छ ।
नेपालका लागि यो प्रतियोगिता सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपसम्म पुग्ने महत्वपूर्ण खुड्किलो हो । प्लेअफमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपाल, क्यानडा, नामिबिया, संयुक्त अरब इमिरेट्स (यूएई), इटाली, युगान्डा, जर्सी र कुवेतले प्रतिस्पर्धा गर्ने छन् । आठ टोलीले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीले अन्य सात टोलीसँग एक÷एक खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष चारमा रहने टोलीले सन् २०२७ को विश्वकप छनोट (ग्लोबल क्वालिफायर) मा स्थान बनाउनेछन् । त्यसैले नेपालका लागि घरेलु मैदानमा हुने यो प्रतियोगिता विश्वकप यात्रालाई निरन्तरता दिने महत्वपूर्ण अवसर हुनेछ ।
नेपालले प्लेअफको पहिलो खेल डिसेम्बर ४ मा इटालीसँग खेल्नेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने उक्त खेलबाट नेपालको विश्वकप छनोट अभियान सुरु हुनेछ । यस्तै डिसेम्बर ६ मा युगान्डा, डिसेम्बर १० मा यूएई, डिसेम्बर १२ मा जर्सी, डिसेम्बर १४ मा क्यानडा, डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका खेल कीर्तिपुर र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

नेपालमाला
