काठमाडौं : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको जनाएको छ । ‘प्रशासनिक कामहरु सम्पन्न भएको छ । पूर्वाधार निर्माणको काम पनि सम्पन्न हुने अवस्था छ’, बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले भने । प्रतियोगितामा सात प्रदेशसहित तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ । खेलाडीले कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदक रहेको छ । यस पटक स्वणसँगै रजत र कांस्य पदक जित्ने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने भएको छ । यसअघि मुख्यतः स्वर्ण पदक विजेतालाई मात्रै नगद पुरस्कार दिने गरिएको थियो । राखेपले यसपटक पदकको महत्व र खेलाडीको प्रोत्साहनलाई ध्यानमा राख्दै रजत तथा कांस्य विजेतालाई पनि नगद पुरस्कार दिने निर्णय गरेको हो । व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीले २० हजार, रजत विजेताले १५ हजार र कांस्य पदक जित्ने खेलाडीले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, टिम इभेन्टमा स्वर्ण, रजत र कांस्य पदक जित्ने टोलीले क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ पाउनेछन् ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका विभिन्न जिल्लासँगै लुम्बिनी प्रदेशका केही स्थानमा पनि सञ्चालन हुनेछन् । कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछ । नेपालगन्ज, बर्दिया र सल्यानमा दुई÷दुई खेल सञ्चालन गरिनेछ । यस्तै, दैलेख, कालिकोट र पश्चिम रुकुममा एक÷एक खेल आयोजना हुनेछ ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते र समापन मंसिर २७ गते हुनेछ । तर, केही खेलका प्रतिस्पर्धा उद्घाटन समारोहअघि नै सम्पन्न गरिने छन् ।
प्रतियोगिता सञ्चालनका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका गरी एक हजार ३० भन्दा बढी निर्णायक तथा प्राविधिक जनशक्ति परिचालन गरिनेछ । जसमा २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक तथा प्राविधिक अधिकारी रहनेछन् । यस्तै, प्रतियोगितामा विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक, व्यवस्थापक तथा स्थानीय स्वयंसेवक पनि परिचालन हुनेछन् । खेल सञ्चालनलाई व्यवस्थित बनाउन राखेपले आवश्यक जनशक्ति व्यवस्थापन र खेलस्थल तयारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।
१०औं राष्ट्रिय खेलकुद आयोजना गर्ने विषय लामो समयदेखि अन्योलमा रहँदै आएको थियो । पूर्वाधार निर्माण, बजेट व्यवस्थापन र प्रशासनिक तयारीलगायतका कारण प्रतियोगिताको मिति पटकपटक सर्दै आएको हो । यसअघि २०८१ मंसिरमै आयोजना गर्ने भनिएको प्रतियोगिता विभिन्न कारणले हुन सकेको थिएन । त्यसपछि पनि पटकपटक मिति निर्धारण र स्थगन हुँदै आएको प्रतियोगिता अहिले पाँचौँपटक मिति निर्धारण गरेर आयोजना गर्ने तयारी गरिएको छ ।
कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रिय खेलकुद आयोजना हुन लागेकाले यसलाई प्रदेशको खेलकुद विकास र राष्ट्रिय पहिचानसँग पनि जोडेर हेरिएको छ । प्रतियोगिताले कर्णालीमा खेल पूर्वाधारको उपयोग, खेल पर्यटनको प्रवद्र्धन र स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
Previous Article
फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवनबीच निर्णायक भिडन्त
Next Article

नेपालमाला
