काठमाडौं: विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक भएको छ । नयाँ सूची अनुसार, विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७ सय ८१ जना पुगेको छ, यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो ।
विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन धेरै हो । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सूची अनुसार, अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।
शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरुको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ । नयाँ सूची अनुसार, सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ ।
दोस्रो स्थानमा रहेको चीनमा ४ सय ७३ जना अर्बपति छन् । त्यस्तै, तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या कीर्तिमानी २ सय जना पुगेको छ । फोर्ब्सले गत मार्च ८ को शेयर मूल्य तथा विनिमय दरको आधारमा अर्बपतिहरुको सम्पत्ति गणना गरेको हो । यो सूचीमा नेपालबाट भने विनोद चौधरी मात्रै परेका छन् । उनी विश्वका धनाढ्यको सूचीमा १७ सय ६४ औं स्थानमा छन् ।
विनोद चौधरी १७ सय ६४ औं स्थानमा
नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्ति सहित विश्वका अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा छन् । गत वर्ष चौधरी १ हजार ६ सय ४७ औं स्थानमा थिए । उनको कूल सम्पत्ति भने गत वर्षको भन्दा घटबढ भएको छैन ।
फोर्ब्सको सूची अनुसार विश्वका शीर्ष २० अर्बपति यी हुन् :
१. बर्नार्ड आर्नल्ट : लुइस भिटन तथा सेफोरालगायत फेसन तथा कस्मेटिक ब्रान्डका मालिक बर्नार्ड आर्नल्ट यस वर्ष पनि विश्वका अर्बपतिको सूचीमा पहिलो नम्बरमा परेका छन्। यी फ्रेन्च अर्बपतिको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ।
२. एलन मस्क : सामाजकि सञ्जाल एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्क दोस्रो नम्बरमा छन्। उनको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब डलर छ।
३. जेफ बेजोस : तस्रो नम्बरमा रहेका अमेजनका संस्थापक बेजोसको कूल सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ।
४. मार्क जुकरबर्ग : चौथाे नम्बरमा रहेका फेसबुकका संस्थापक जुकरबर्गको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर छ।
५. ल्यारी इलिसन : पाँचाैँ नम्बरमा रहेका ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब डलर छ।
६. वारेन बफेट : वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको कूल सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ।
७. बिल गेट्स : सातौँ नम्बरमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ।
८. स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्वसीईओ बाल्मरसँग कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ।
९. मुकेश अम्बानी : नवौँ नम्बरमा रहेका अर्बपति भारतीय उद्यमी अम्बानीसँग कूल सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ। एसियाका सबैभन्दा धनी व्यक्ति उनी रिलायन्स कम्पनीका मालिक हुन्।
१०. ल्यारी पेज : विश्वका टपटेन अर्बपतिमा पर्न सफल गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर छ।
११. सर्गेइ ब्रिन : गुगलका सहसंस्थापक ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ।
१२. माइकल ब्लुम्बर्ग : अर्बपतिको सूचीमा १२ नम्बरमा रहेका वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर छ।
१३. अमान्सियो ओर्टेगा : स्पेनका फेसन तथा रिटेल क्षेत्रका ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ।
१४. कार्लोस स्लिम हेलु : टेलिकम कम्पनी अमेरिका मोविलका मालिक मेक्सिकन अर्बपति हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ।
१५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : एल ओरियल ब्रान्डका मालिक फ्रेन्च नागरिक मेयेर्सको कूल सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ।
१६. माइकल डेल : १६औँ नम्बरमा रहेका डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ माइकल डेलको कूल सम्पत्ति
९१ अर्ब डलर छ।
१७. गौतम अदानी : चर्चित अदानी ग्रुपका अध्यक्ष अदानीसँग ८४ अर्ब डलर सम्पत्ति छ।
१८. जिम वाल्टन : फेसन तथा रिटेल क्षेत्रका उद्यमी वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ।
१९. रब वाल्टन : वाल्टन वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा हुन्। उनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ।
२०. जेन्सेन हुआङ : विश्वका शीर्ष २० अर्बपति बन्न सफल जेन्सेन ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ हुन्। उनको कूल सम्पत्ति ७७ अर्ब डलर छ।

नेपालमाला
