काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन् । ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ विषयक खेलकुद पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्यसचिव घिसिङले आगामी बजेटमा खेल संघको कार्यक्रम र पेश गरेको योजनाका आधारमा बजेटमै अनुदानको ब्यवस्था गरिने बताए । उनले खेलकुदले पाएको बजेटलाई प्राथमिकताका आधारमा खर्च गरिने प्रतिवद्धता पनि जनाए ।
‘‘राखेपले दुई सय नौमा रहेको खेल संघको संख्यालाई ६१ मा घटाइएको छ । बजेट विनियोजनको हिसाबले पनि पदक र राष्ट्रिय महत्वका खेललाई ध्यान दिइनेछ’, सदस्यसचिव घिसिङले भने, ‘खेलकुदमा बजेट पर्याप्त नहुने र भएको बजेटलाई पनि खर्च गर्न नसकिने अवस्थालाई चिर्न आवश्यक छ ।’ नेपालको कूल बजेटमध्ये खेलकुदले ०.१२ प्रतिशत बजेट पाउने र त्यसमा पनि ठूलो हिस्सा कर्मचारीको तलब भत्तामा जाने गरेको यथार्थ छ । राखेपले कर्णाली प्रदशेमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको र यसको अपनत्व प्रदेश स्वयंमलाई दिन लागेको पनि सदस्यसचिव घिसिङले बताए ।
राखेपले राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट मैदान, विराटनगर र भरतपुरको मैदानलाई छिटो सम्पन्न गरिसक्ने योजनाका साथ अगाडि बढेको सदस्यसचिव घिसिङले बताए । बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीको सुझाव लिँदै घिसिङले राखेपले भौतिक पूर्वाधार निर्माण, पुनर्निर्माण, खेलाडी पलायन, खेलाडी र प्रशिक्षकलाई प्रविधियुक्त प्रशिक्षण तथा तयारीको ब्यवस्था, राष्ट्रिय टोलीको चुस्त तयारी, खेल जीवनपछि खेलाडीले पाउने सुविधा, पुरस्कार जस्ता विषयमा बजेटमा ध्यान दिइने पनि प्रतिबद्धता जनाएका थिए ।
सहभागी सञ्चारकर्मीले काम गर्नसक्ने गरी कार्यक्रम तर्जुमा गर्नु, १०औं राष्ट्रिय खेलकुदलाई बजेटमा प्राथमिकता दिन, खेलाडी पलायन हुने अवस्थलाई अन्त्य गर्ने गरी योजना बनाउन, राखेपको गतिविधिलाई प्रविधियुक्त बनाउनु पर्नेलगायतका सुझाव दिएका थिए । राखेपले यसअघि बजेट सम्बन्धमा खेल संघका पदाधिकारीसँग पनि छलफल गरेको थियो ।
Previous Article

नेपालमाला
