काठमाडौं : नेपाल पछिल्लो पटक टीट्वेन्टी खेलमा लगातार चौथो पटक फाइनलमा पराजित भएको छ । बुधबार हङकङमा सम्पन्न त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित हुन पुग्यो ।
जितको लागि १७२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । यो हार टीट्वेन्टी को फाइनलमा नेपालको लगातार चौथो हो । यसअघि गत अक्टोबरमा नेपाल, हङकङ र युएईबीच मूलपानी र टियुमा त्रिकोणात्मक टीट्वेन्टी शृंखला भएको थियो ।
नेपाल त्रिवि मैदानमा भएको फाइनलमा युएईसँग ४ विकेटले हार्न पुगेको थियो । १६३ रनको लक्ष्य युएईले १९।५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । नोभेम्बरमा आईसीसी टीट्वेन्टी विश्वzकप एसिया क्षेत्र छनोटको फाइनलमा त्रिविमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो । १८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा अभिनाश बोहराले २१ रन खर्चिदा नेपालले १० रन मात्रै जोड्न पुगेको थियो ।
दुई साताअघि नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच त्रिकोणात्मक टीट्वेन्टी शृंखला त्रिविमा भएको थियो । फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९।३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालमाला
