काठमाडौं : नेपाल त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै घरेलु टोली नेपालले फाइनलमा स्थान बनाएको हो ।
तीन टोली सहभागी शृंखलामा नेपाल रन रेटमा अगाडि रहँदै फाइनलमा स्थान बनाएको हो । तालिकामा नेपाल दोस्रो स्थानमा छ । चार खेलमा दुई जित र दुई हारको नतिजा निकालेको नेपालको चार अंक छ । तीन खेलमा चार अंक नै जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ भने तीन खेलमा एक मात्रै जित निकालेको नामिबिया पुछारमा छ ।
नामिबिया र नेदरल्यान्ड्समध्ये अब एक टोली मात्रै फाइनल पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ । नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ । नेपालको ०.२९३ र नामिबियाको नेटरनरेट माइनस ०.७०० छ । यो अवस्थामा नेपाललाई नेटरनरेटमा दुई टोलीमध्ये एकले मात्रै पछि पार्न सक्नेछ । आइतबार नेदरल्यान्ड्स विजयी भएमा सोझै फाइनल पुग्नेछ । नामिबियाले जित निकालेमा भने नेटरनरेटमा भर पर्नु पर्नेछ । नेदरल्यान्ड्स र नामिबियामध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनलमा स्थान बनाउने छ ।
शनिबार नेदरल्यान्ड्सले दिएको एक सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । नेपालका कप्तान रोहित पौडेलले ४६, गुलसन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले आठ रन जोडे । नेदरल्यान्ड्सका भिभियन किङ्माले तीन विकेट लिए । यस्तै आर्यन दत्तले एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.३ ओभरमा एक सय २० रनमै समेटिएको थियो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सर्वाधिक ३१ रन बनाए । यस्तै टिम भान डेर गुगटेनले २४, रोलेफ भान डेर मर्वेले २३ र स्कट एडवार्ड्सले १८ रन बनाए । नेदरल्यान्ड्सका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न नेपालका प्रतिश जिसीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडनसहित १३ रन खर्चिए । यस्तै करण केसी र कुशल मल्लले दुई÷दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई दुई रनले नतिजा सुम्पिएको नेपालले तेस्रो खेलमा नामिबियालाई तीन रनले पराजित गरेको थियो ।
Previous Article

नेपालमाला
