काठमाडौं : साउदी अरेबियामा जारी वेस्ट एसियन फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको उपाधिका लागि नेपालले बिहीबार जोर्डनसँग प्रतिस्पर्धा गर्ने भएको छ। बुधबार राति भएको सेमिफाइनलमा लेवनानलाई २–१ गोलले पराजित गर्दै नेपालले साविक विजेता जोर्डनसँगको उपाधि भिडन्त पक्का गरेको हो।
जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ । नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । नेपालले पहिलो पटक यो प्रतियोगिता खेल्ने मौका पाएको हो। मंगलबार भएको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ र जोर्डनले प्यालेस्टाइनलाई ५-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको थियो।
समूह चरणमा दुबै टोलीले सबै ३ खेल जितेको थियो। जोर्डनको फाइनलसम्मको यात्रा सहज रह्यो। समूह चरणमा सजिलो साथ अघि बढेको नेपालले सेमिफाइनलमा लेबनानको कडा चुनौतीको सामना गर्नुपरेको थियो। १-० को पछि परेको खेल उल्टाउँदै नेपाल उपाधि नजिक पुगेको थियो।
फिफा वरियतामा नेपाल भन्दा जोर्डन माथि छ । महिला फुटबलको वरियतामा नेपाल १ सय पाँचौं र जोर्डन ७४औं स्थानमा छ । सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुआती दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि समेत जितेको थियो । वाफमा नेपालले ४ खेलमा १५ गोल गर्दै २ गोलको सामना गरेको छ भने जोर्डनले १३ गोल गर्ने क्रममा १ गोल खाएको छ।
टोलीका लागि ९ गोल गरेकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले फाइनल भने खेल्ने छैनन् । फाइनल खेल फिफा विन्डोमा नपरेका कारण सावित्राले अनुपस्थित हुने भएकी हुन्। फिफाको नियम अनुसार विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र खेलाडीले अनिवार्य उपस्थिति जनाउनुपर्ने नियम छ। वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहे पनि नकआउट चरणका खेल भने विन्डो बाहिर थिए। फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित सावित्रालाई क्लबले सेमिफाइनलसम्म खेल्न दिएको थियो।
फ्रान्सेली लिगअन्तर्गत मार्च २ मा हुने खेल ग्वेंगाम्पका लागि निकै महत्वपूर्ण मानिएको छ। रेलिगेसन क्षेत्रमा रहेको लिल र ग्वेंगाम्पबीच चार अंकको मात्रै फरक रहेकाले क्लबका लागि महत्वपूर्ण मानिएको हो। रेलिगेसनबाट बच्न यो खेल जित्नै पर्ने भएकाले ग्वेंगाम्पले सावित्रालाई बोलाएको हो।

नेपालमाला
