काठमाडौँ : क्यासिनो माजोङले दक्षिण एशियास्तरको प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एशिया’ अवार्ड प्राप्त गरेको हो। यस्तै, क्यासिनो माजोङका महाप्रबन्धक अमूल्य राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर साउथ एशिया’ अवार्ड प्राप्त गरेका छन्।
भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया’ले बर्सेनि संसारभरका होटल र क्यासिनोलाई अवार्ड वितरण गर्दै आएको छ। नयाँदिल्लीस्थित होटल अशोकमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो। क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एशिया’ अवार्ड पाएको यो तेस्रोपटक हो। होटल सोल्टी परिसरको यो क्यासिनो नेपालकै नम्बर १ क्यासिनो हो। यसअघि क्यासिनो माजोङले तीनवटा अवार्ड सोही इभेन्टमा प्राप्त गरिसकेको छ। गत वर्ष सन् २०२२ मा उक्त क्यासिनोले ‘बेस्ट क्यासिनो इन साउथ एशिया’ अवार्ड पाएको थियो।
सन् २०२० र २०२१ मा कोभिड महामारीका कारण अवार्ड वितरण भएन। यस्तै, सन् २०१९ मा पनि क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड पाएको थियो। र, सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड पाएको थियो। नेपालगन्जस्थित क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड प्राप्त गरेको छ। ‘दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई प्रवर्द्धन गर्न उक्त अवार्ड फंक्सन आयोजना गरिँदै आएको छ,’ महाप्रबन्धक राणाले भने, ‘त्यसमा नेपालको क्यासिनोले क्षेत्रीय स्तरको अवार्ड निरन्तर प्राप्त गर्नु प्रतिष्ठाको विषय हो।’
उनका अनुसार क्यासिनो माजोङले बर्सेनि लाखौँ विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ। र, उक्त अवार्ड त्यसैको प्रतिफल हो। ‘यो दक्षिण एशियामा रिकग्नाइज्ड अवार्ड हो,’ राणाले भने। भारतका पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भट्ट, महाराष्ट्रका पूर्वगभर्नर तथा उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोस्यारी र गान्धी समितिका उपाध्यक्ष तथा पूर्वयुवा तथा खेलकुद राज्यमन्त्री विजय गोयलले अवार्ड वितरण गरेका थिए।
यो ‘इन्टरनेसनल हस्पिटालिटी एन्ड ट्राभल अवार्ड’को १८औँ शृंखला हो। ट्राभल एन्ड हस्पिटालिटी अवार्डमार्फत पर्यटन उद्योगका विभिन्न क्षेत्रका कम्पनीलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने गरिन्छ। उत्कृष्ट होटेल, क्यासिनो, टुर अपरेटर, स्पा एन्ड वेलनेस सुविधा प्रदायक, रेस्टुराँ तथा प्रविधि र अन्वेषण कम्पनीलाई उक्त अवार्ड प्रदान गरिँदै आएको छ।

नेपालमाला
