काठमाडौं : विश्व वातावरण दिवसका अवसरमा शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको संयुक्त आयोजनामा भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रभातफेरी कार्यक्रम गरिएको छ । विभिन्न प्लेटकार्ड बोकेका सरकारी तथा निजी विद्यालयका विद्यार्थी, शिक्षक, सहकारीकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सूर्यविनायक नगरपालिकाको विभिन्न स्थानको परिक्रमा गरेका थिए ।
कार्यक्रमको शुभारम्भ प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला सभापति मनोजकुमार थापा र बालकोट उपशाखाका अध्यक्ष दिवाकर सिलवालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला सभापति थापाले प्लास्टिकमुक्त समाज निर्माणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । सूर्यविनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रदीप कार्कीले वातावरण संरक्षणका लागि वडाले सरसफाइलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका संस्थापक उद्धव सिलवालले स्वागत मन्तव्य राख्दै वातावरण संरक्षणमा सबैले आ–आफ्नोतर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले वातावरण संरक्षणको मुद्दा संसारभर पेचिलो बन्दै गएको बताउँदै प्रतिष्ठानले खेलकुदसँगै सामाजिक काम पनि निरन्तर रुपमा गर्दै आएको बताए ।
‘प्लास्टिकजन्य पदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ सोमबार नेपालमा विश्व वातावरण दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
Previous Article

नेपालमाला
