काठमाडौं : घरेलु टोली नेपालले काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
घरेलु कोर्टमा आत्मविश्वासी देखिएको नेपालले पहिलो सेट २५–११ ले आफ्नो पक्षमा पारेको थियो । तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा किर्गिस्तानले नघरेलु टोलीलाई २५–१९ को नतिजा सुम्पिएको थियो । तेस्रो सेटमा किर्गिस्तान २५– ११ मा सीमित भएको थियो । समूह ‘ए’मा रहेको नेपालले मंगलबार बंगलादेशको सामना गर्नेछ ।
सोमबार नै भएको समूह ‘ए’ को अर्को खेलमा भारतले पनि बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । भारतविरुद्ध निरीह देखिएको बंगलादेशले दोहोरो संख्यामा अंक जोड्न सकेन । पहिलो सेटमा तीन अंक मात्रै जोडेको बंगलादेशले २५–३ को नतिजामा भारतलाई पहिलो सेट सुम्पिएको थियो । दोस्रो सेट २५–९ ले जितेको भारतले तेस्रो सेटमा पनि २५–६ को सहज जित निकालेको थियो ।
यसैगरी समूह ‘बी’को पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमै पराजित ग¥यो । एकपक्षीय खेलमा उज्वेकिस्तानले श्रीलंकालाई २७–२५, २५–१५, २५–१३ ले पराजित ग¥यो । यस्तै समूह ‘बी’ अर्को खेलमा काजकिस्तानले माल्दिभ्सलाई २५–१६, २५–१४, २५–६ ले हरायो ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता छ । समूह ‘ए’मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।
संगम र रीमाको डेब्यु
काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालका संगम महतो र सीमा कुँवरले डेब्यु गरेका छन् । उजनीहरुलाई मुख्य प्रशिक्षक जान डे ब्रान्डले किर्गिस्तानविरुद्ध कोर्टमा उतारेका हुन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी संगमले क्विक स्पाइकरका रुपमा सुरुवाती टोलीमा स्थान बनाएकी थिइन् । संगम क्विक स्पाइक र ब्लकमा प्रभावकारी देखिएकी थिइन् ।
न्यु डायमन्ड एकेडेमीकी रीमाले संगमलाई प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी हुन् । न्यु डायमन्डकी पछिल्लो पुस्ताकी चर्चित खेलाडी रीमा बायाँ हाते आउटसाइड स्पाइकर हुन् । संगम र रीमासँगै प्रगति नाथ, शान्ति तामाङ, पूजा चौधरी र कविता भट्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

नेपालमाला
