काठमाडौं : लिग लिडर जावलाखेल युथ क्लब र सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बराबरी खेलेका छन् । आइतबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेल र मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । जावलाखेलले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो ।
खेलको ३३औं मिनेटमा एनकोटो मासोबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । विनोद केसीले उपलब्ध गराएको पासलाई नियन्त्रणमा लिँदै मासोबीले उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको जावलाखेलले दोस्रो हाफमा थप एक गोल थपेको थियो । ७५औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाएका थिए । फोडे फोफनाले उपलब्ध गराएको बललाई हिसुबले जाली चुमाएका थिए ।
तर, अन्तिम दश मिनेट सम्हालिन नसक्दा जावलाखेलसँग मनाङले अंक खोस्न सफल भएको थियो । ८०औं मिनेटमा विशन गुरुङले गोल गर्दै मनाङलाई खेलमा फर्काएका थिए । त्यसपछि इन्जुरी समयमा सुमित श्रेष्ठले गोल गर्दै जावलाखेलसँग अंक खोसेका थिए । पछिल्लो चार खेलमा मनाङको चौथो बराबरी हो ।
मनाङसँगको बराबरीपछि पनि जावलाखेल लिगको शीर्ष स्थानमा यथावत छ । जावलाखेलले १८ खेलमा ३१ अंक जोडेको छ । नौ खेलमा जित निकालेको जावलाखेलले चार बराबरी र पाँच हारको नतिजा निकालेको छ । १८ खेलमा २२ अंक जोडेको मनाङ लिगको सातौं स्थानमा छ ।
यसैगरी एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबले २–२ गोलको बराबरी खेलेका छन् । खेलको २८औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रेन्ड्सले २८औं मिनेटमा अग्रता गुमाएको थियो । अमित तामाङले आत्मघाती गोल गरेपछि एनआरटी खेलमा फर्किएको थियो ।
त्यसको आठ मिनेट नबित्दै अमित तामाङले नै पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्लाई पुनः अग्रता दिलाएका थिए । जिन एनिसेन्टलले ७९औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्न नसक्दा एनआरटीले बराबरी गर्ने सुन्दर मौका गुमाएको थियो । निकोलस सोङले ८९औं मिनेटमा गोल गर्दै खेल २–२ गोलको बराबरीमा टुङ्ग्याएका थिए । बराबरीसँगै १८ खेलमा २२ अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा छ । समान खेलबाट २० अंक जोडेको फ्रेन्ड्स ११औं स्थानमा उक्लिएको छ ।
Previous Article
पारा तेक्वान्दो खेलाडी सिर्जना र प्रशिक्षक कविराज सम्मानित
Next Article

नेपालमाला
