काठमाडौं : प्रथम पावर तेक्वान्दो च्याम्पियनसिपको उपाधि सुमित विष्ट र अस्मिता खड्काले जितेका छन् । अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजनामा भएको च्याम्पियनसिपमा सुमितले पुरुष र अस्मिताले महिलातर्फ उपाधि जितेका हुन् ।
पुरुष ५८केजी तौल समूहमा सुमितले उपाधि जित्दा रुपेश तामाङ दोस्रो र राहुल कुमाल र अम्बिकाप्रसाद घिमिरेले तेस्रो स्थान हात पारे । यसैगरी महिला ५३ केजीमा अस्मिताले स्वर्ण जित्दा कञ्चन थापाले रजत र आयुषा लामा र अञ्जली तामाङले कांस्य पदक पक्का गरे । च्याम्पियनसिप महिलातर्फ ५३ र पुरुषमा ५८ केजी तौल समूहमा खेलाइएको थियो । जसमा आठ पुरुष र आठ महिलाले प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियनसिपको विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो स्थान हात पार्ने खेलाडीलाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । खेल पोसाक, जुत्ता, चस्मालगायत सामग्री प्रदान गरिएको थियो ।
विजेतालाई कांग्रेस नेता प्रकाशमान सिंह, बागमती प्रदेशसभा सदस्य तीर्थ लामा, पुकार महर्जन, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र फाउन्डेसनका अध्यक्ष एवं काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीलगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा पूर्वतेक्वान्दो खेलाडी तथा काभ्रेको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङलाई सम्मान गरिएको थियो ।


नेपालमाला
