पोखरा: पोखरा: उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ। उच्च अदालत पोखराले आज उनीमाथिको अभियोग दाबी नपुग्ने ठहरसहित सफाइ फैसला गरेको हो। यसअघि जिल्ला अदालत नवलपुरले जेलमा राख्ने भनेर गरेको फैसलाविरुद्ध उनले उच्चमा पुनरावेदन गरेका थिए ।
उच्च अदालत पोखराका कायममुकायम न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भनी सफाइ फैसला गरेको हो। यो फैसलापछि शाह सोमबार जेलमुक्त हुने उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए।
पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।



नेपालमाला
