काठमाडौं : तेक्वान्दो प्रशिक्षक तथा निर्णायक बब्लु सिवाकोटी र कुमार लामा घिसिङले अन्तर्राष्ट्रिय रेफ्री कोर्स उतीर्ण गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा गत जनवरी १२ देखि १५ तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनारमा सहभागी सिवाकोटी र घिसिङले रेफ्री कोर्स उतीर्ण गरेका हुन् ।

बब्लु सिवाकोटी र कुमार लामा घिसिङसँगै नविना बुढाथोकी र गौरव रजकले पनि अन्तर्राष्ट्रिय रेफ्री कोर्स उतीर्ण गर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको कार्यक्रम अनुसार यूएई तेक्वान्दो संघले अन्तर्राष्ट्रिय रेफ्री सेमिनार र रिफ्रेसर कोर्स सञ्चालन गरेको हो ।
सिवाकोटी र घिसिङ विगत लामो समयदेखि प्रशिक्षणमा सक्रिय छन् । सिवाकोटीले सीतापाइला तेक्वान्दो डोजाङ र घिसिङले युनाइटेड तेक्वान्दो डोजाङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सक्रिय छन् । उनीहरुकै पहलमा काठमाडौं अन्तर्राष्ट्रिय ग्योरोगी तथा पुम्से च्याम्पियनसिप पनि आयोजना हुँदै आएको छ । जसको चार संस्करणसम्म च्याम्पियनसिप आयोजना भइसकेको छ ।
सिवाकोटी र घिसिङ नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत हुन् । सिवाकोटी पुम्से निर्णायक उपसमितिको संयोजक पनि हुन् भने घिसिङ जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक हुन् ।

नेपालमाला
