संघीय संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहलाई लिएर सामाजिक सञ्जालमा अधिक आक्रोश देखिन थालेपछि र सिङ्गो राजनीतिक प्रणाली र राजनीतिक नेतृत्वलाई नै दोषी करार गर्न लागेपछि सरकार यतिबिघ्न अत्तालियो कि मृतक आचार्यले उठाएको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गर्न पुग्यो।
प्रहरी प्रशासनले त अझ एक कदम अगाडि बढेर एउटा कठोर नीति लियो, अबदेखि पेट्रोल पम्पहरुले बोतल र ग्यालेनमा इन्धन बेच्न नपाउने ! पेट्रोल मट्टीतेल छर्किएर आगो लगाई गरिने आत्महत्या रोक्न सरकारले त्यसको खुद्रा बिक्रीमा रोक लगाएर जगहँसाई गरेको छ। समस्या एकातिर छ । तर, सरकार भने समाधान अर्कोतिर खोज्दैछ। सरकारको यस्तै रवैया र बहुलठ्ठीपनले ‘अर्थ न बर्थ गोबिन्द गाई, टाउकाको औषधि नाइटोमा लगाई’ भन्ने लोकोक्त्तीलाई चरितार्थ गरेको छ।
के अब रुखमा झुन्डिएर मर्न नदिन सबै रुखहरु काट्ने ! घरको दलिनमा झुन्डिएर कोही मरे घर भत्काउने नीति ल्याउने ? नदीनाला, ताल, पोखरीहरुमा हामफालेर मर्नेहरुलाई रोक्न के गर्ने ? सबै पुरिदिने कि विशाल पर्खाल लगाएर छेक्ने ! कि किनारामा काढेतार लगाउने ? विष खाएर कोही मरे, बिक्रेतालाई कारावास पठाउने ?
खुकुरी, चक्कुजस्ता धारिलो हातहतियार र डोरी, सल र तन्ना अबदेखि बेच्न पाउने कि नपाउने ? घरको छत र भिर पहराबाट हाम फाल्लान्, त्यहाँ के गर्ने ?
जलेर सख्त घाइते बिरामीलाई अस्पतालको आईसीयुमा भेट्न पुगेकी नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीको मिडिया प्रेम र ‘भाइरल मोह’ले जुन जोगी आएपनी कानै चिरेका भन्ने उखानलाई नै चरितार्थ गरेको देखियो। मन्त्रीज्यू सँगसँगै आईसीयुको बेडसम्म मिडिया कसरी र केका लागि पुग्यो ? सस्तो लोकप्रियताको तिर्खा किन यति सारो ?
इलामका प्रेमप्रसादको आत्मदाहलाई आफूमाथि ठूलै दबाब ठान्ने सरकारले छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकको आत्महत्याको बारेमा किन नजरान्दाज गरेको ? के उनको आत्महत्या आत्महत्या होइन ? गतिलो सुसाइड नोट लेख्न नजान्नेको सुनुवाई हुँदैन ? कि आत्महत्या गर्न अब काठमाडौं नै आउनु पर्ने हो ? झुन्डिएर वा बिष सेवन गरेर होइन, आत्मदाह गर्नेको मात्र सुनुवाई गर्ने नजिर बसाल्न खोजिएको हो ? कि आत्महत्यालाई पनि पहाडी र मधेशी गर्न खोजिएको हो ?
लौ भन सरकार, अब कति वटा छानबिन समिति गठन गर्छौं ? कि आत्महत्या मन्त्रालय नै गठन गर्छौं ? कि सामाजिक सञ्जालमा उछालिएका आत्महत्यालाई मात्र महत्व दिन्छौं ?
अर्को एक प्रेम जोडी हिजै मात्र रुखमा झुन्एिको समाचार पनि आएको छ। के सरकारले त्यसको छानबिनका लागि पनि समिति बनाएको छ ? के प्रेम जोडीको आत्महत्या सरकारी अध्ययन र छानबिनको बिषय बन्न सक्दैन ? सरकारले किन त्यसरी ‘तुम्हारा खून खून, हमारा खून, पानी’को बिभेदकारी नीति लिएको ? जिउँदालाई त विभेद गरेकै थियो, अब आत्महत्या गर्नेहरुबीच पनि भेदभाव गर्ने स्थितिमा सरकार पुगेको देखिँदैछ।
बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक ४० सेकेन्डमा एक जना ब्यक्तिले आत्महत्या गरिरहेको हुन्छ भने त्यसरी आफैले आफ्नो हत्या गरेर जीवन समाप्त पार्नेहरुको संख्या वार्षिक आठ लाखभन्दा बढी छ। नेपालमा दैनिक करिब एक दर्जनले आत्महत्या गर्छन् भने वर्षेनी पाँच हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । लौ भन सरकार, अब कति वटा छानबिन समिति गठन गर्छौं ? कि आत्महत्या मन्त्रालय नै गठन गर्छौं ? कि सामाजिक सञ्जालमा उछालिएका आत्महत्यालाई मात्र महत्व दिन्छौं ?
प्रेमजीले जे जस्ता पीडा देखाएर आत्मदाह गरे, त्यस्तो पीडा त लाखौं नेपालीहरुले भोगिरहेकै पीडा हुन्। उनले सुसाइड नोटमा उल्लेख गरेको बुँदाहरु लाखौं साना व्यापारीको जीवनसँग मेल खान्छ। जीउन संघर्ष गर्ने दौरान देखा परेका समस्या र आइपरेका चुनौतीलाई डटेर सामना गर्नुको साटो मृतक प्रेमप्रसादलाई आदर्श मानेर उनले जस्तै हरेस खाने र आत्मदाह गर्दै हिड्ने हो भने करिब ९० प्रतिशत नागरिकले आत्महत्याको बाटो रोज्नु पर्ने परिस्थीति आउँछ। ऋण र दिन नलागेका नेपाली आखिर कति पो होलान् र ?
त्यसैले उनले उठाएको कदम नितान्त गलत हो। कायर मनस्थितिको उपज हो। मरेर होइन बाँचेरै संघर्ष गर्नु पर्नेमा मृत्युको बाटो रोजेर श्रीमतीलाई विधुवा छाड्ने र आफ्ना सन्तानलाई टुहुरो बनाएर जाने उनको कदमलाई किमार्थ सहानुभूतिको दृष्टिले हेर्न सकिन्न। प्रेमप्रसाद आचार्य, कहालिलाग्दो आत्मदाहको खबर होइन संघर्ष र प्रेरणाको उर्जाशील सन्देश बन्नुपर्थ्यो।
हो, उनले सुसाइड नोटमा उठाएका सवालहरु र उनले ब्यवसाय गर्दा भोग्नु परेका समस्या र खाएका हन्डरहरु देशको भ्रष्ट राजनीति, निकम्मा कर्मचारीतन्त्र, बजार माफिया र बिचौलिया साथै समग्रमा हाम्रो विद्यमान सामाजिक संरचना नै दोषी छ, त्यसमा दुईमत छैन। निसन्देह यो राज्य संयन्त्र र सिष्टमको असफलताको एउटा भयावह एवं दारुण दृश्य पनि हो। शरीरमा प्रेटोल छर्किन नसकेको मात्रै हो सरकार ! इलामका प्रेमप्रसाद हुन् वा सप्तरीका रामदेव मरिक उनीहरुको जस्तै मानसिक प्रताडनाकाबीच जीवन र मृत्युको दोसाँधमा उभिने नेपालीहरु यहाँ हजारौं र लाखौंको संख्यामा छन्। सरकार, तिनका बारेमा गम्भीर बनेर सोचोस्।
प्रेमप्रसादको सल्केको आगोको रापले अवश्य पनि सिङ्गो देश र जनतालाई पोलेको छ। त्यसलाई शान्त पार्न उनले राखेको सुझावहरू राम्रोसँग मनन गरी आम जनताले भोग्नु परेको समस्याको समाधानतर्फ लाग्न र सर्वसाधारण नागरिकको जीवनस्तर सुधार्न, देशको उन्नति र प्रगति कसरी गर्ने भन्ने दिशामा लाग्न देश चलाउँछु भन्नेहरुले गम्भीर भएर नलाग्ने हो भने त्यस्ता धेरै प्रेमप्रसादहरु सल्किरहनेछन्। हल्लालाई सामसुम र थामथुम पार्न गरिने सरकारी छलछामले फेरि पनि यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपरोस्, सुन्न नपरोस्।
आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगहरूबाट पीडित भएका हुन्छन्। तर त्यसो भन्दैमा आत्मदाहको यो घटनालाई सरकारले डिप्रेसन वा मानसिक तनावसँग मात्रै जोडेर नहेरोस् किनभने आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिक मनोदशासँगै थुप्रै सामाजिक र आर्थिक पक्ष पनि जोडिएको हुन्छ। आत्महत्याका पछाडि व्यक्तिको मानसिक मनोदशासँगै थुप्रै सामाजिक र आर्थिक, राजनीतिक, साँस्कृतिक, लैङ्गिकलगायतका अन्य थुप्रै सामाजिक, आर्थिक, राजनितिक र धार्मिक पक्षहरु जोडिएका र जिम्मेवार रहेका हुन्छन्। त्यसैले ती सबैको समग्रतामा बुझ्न र ब्याख्या बिष्लेषण गर्न आवश्यक छ।
मानिसले किन आत्महत्या गर्छ ? त्यसको जवाफ केवल डिप्रेसन वा उसको मानसिकस्थिति हुन सक्दैन। डिप्रेसन एउटा कारण हुनसक्ला तर, त्यो नै मात्र पूर्ण र पर्याप्त कारण हो भन्ने निष्कर्षमा पुग्न हुँदैन।
प्रेमप्रसादको आत्मदाहबाट क्षणिक भावनात्मक आवेगमा आएर सामाजिक सञ्जालमा रोइलो गर्ने र घटनाको सम्पूर्ण जिम्मेवार अहिलेको सरकार र राज्य ब्यबस्था नै हो भनेर धारे हात लगाउनेहरुको जमात पनि ठूलै छ। हिजो चुनावमा मासुभात खाएर जिन्दावाद र मुर्दावादको नारा लगाएर यिनै नेताहरुको अघिपछि कुद्नेहरु अहिले सामाजिक सञ्जालमा राँडो रुवाई गरेको देख्दा छेपारो पनि तिन छक्क परेको होला।
यतिखेर प्रेमप्रसाद आचार्यको परिवारको सहयोगका लागि सामाजिक सञ्जालमा उनकी पत्नी नानुकाको खातामा पैसा जम्मा गरेको भौचर सार्वजनिक गर्दै उनलाई सहयोग गर्न अरूलाई समेत आग्रह गर्ने प्रबृत्ति भाइरल बनेको छ।
स्वदेश तथा विभिन्न देशमा बस्ने नेपालीबाट मृतक आचार्यकी पत्नीको बैंक खातामा धमाधम रकम जम्मा हुन थालेको समाचार सुन्न पाइएको छ। त्यो आफैमा सकारात्मक र सुखद सन्देश पनि हो। ढिलोचाडो मृतक आचार्यले आफ्नो परिवारमाथी थोपरेर गएको ६० लाख रुपैयाँभन्दा बढी ऋण जनस्तरबाट उठ्ला र चुक्ता पनि होला। तर, के आचार्य परिवारप्रति उठेको हाम्रो सहानुभूति र सहयोगी हातहरु सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकको परिवार र अरु त्यस्तै आत्महत्या गर्नेका परिवारहरुप्रति पनि त्यसरी नै उठ्ला ?

मदन बस्नेत
