काठमाडौं : नेपालकी सिर्जना घिसिङले साउदी अरेबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स (जी–टेन)मा ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । रियादमा बिहीबार राति भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनलमा सिर्जनाले ५२ केजीमुनिको तौल समूहको के–४४ विधामा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२–० अंकले हराएर स्वर्ण पदक जितेकी हुन् । मेर्यम पारा तेक्वान्दोकी विश्व नम्बर एक खेलाडी हुन् । सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वार्टरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएकी थिइन् ।
विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण हो । सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् । प्रतियोगितामा नेपालका दुई खेलाडीले सहभागिता जनाएका थिए ।
सिर्जनासँगै ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोवद्र्धनले सहभागिता जनाएका थिए । पलेशा भने क्वार्टरफाइनलबाटै बाहिरिएकी छिन् । के–४४ कै ५७ केजीमूनि तौलसमूहमा सहभागी पलेशा भने क्वाटरफाइनलमै इरानकी इव्राहिमी रोजासँग ८(२ अंकका आधारमा पराजित हुँदै बाहिरिएकी थिइन् ।
नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले निर्वाह गरेका थिए। स्वयंमसेवक प्रशिक्षक लामाले विगत सा वर्षदेखि पारा तेक्वान्दोको प्रशिक्षण सम्हाल्दै आएका छन् ।

विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गरेका थिए । प्रतियोगिताअघि विश्व वरीयतामा पलेशा १०औं र सिर्जना १४ औं स्थानमा थिए । यो स्वर्ण जितेपछि सिर्जनाले पारा तेक्वान्दोको आफ्नो तौलसमूहको विश्व वरीयतामा छलाङ मारेकी छन् । १४औं वरीयतामा रहेर प्रतियोगिता खेल्न साउदी पुगेकी उनी फर्किँदा सातौं वरीयतामा उक्लिएकी छन् ।
सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिकमा सिधा सहभागिताका लागि विश्व वरीयता निकै नै महत्वपूर्ण मानिएको छ । नेपाल तेक्वान्दो संघले खेलाडीको वरीयता सुधारकै लागि ग्रान्ड प्रिक्स फाइनलमा सहभागी गराउने निर्णय गरेको थियो।
यो स्वर्ण जितेर १०० अंक कमाएकी सिर्जनाको अहिले ११२ अंक पुगेको छ । पेरिस पारा ओलम्पिकमा हरेक तौलसमूहमा शीर्ष ६ स्थानमा रहने खेलाडीले सिधा छनोटको अवसर पाउँछन् । त्यसका लागि सिर्जनाले यस्तै प्रतिस्पर्धा अझै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । टोकियो पारा ओलम्पिकमा दुई वर्षअघि पलेशा गावद्र्धनको सहभागिता वाइल्ड कार्डमार्फत भएको थियो ।
पारा तेक्वान्दोमा के–४४ विधा भनेको दुईमध्ये एउटा हातको कुहिनाभन्दा मूनिको भाग नहुनु हो । नेपालका दुवै खेलाडी एउटै विधाका हुन् । त्यसो हुँदा घरेलु प्रशिक्षणका क्रममा पनि एकअर्कालाई सहयोग भइरहेको प्रशिक्षक लामाले बताए ।
स्वर्ण जितेपछि र्सिना र उनका प्रशिक्षक कविराज नेगी लामालाई विश्व पारा तेक्वान्दोका निर्देशक ओलोफ हसनले बधाइ दिएका थिए। उनकै पहलमा नेपालले ग्रान्डपिक्सको फायनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । सिर्जनाले नेपाली खेलकुदका लागि ऐतिहासिक पदक जितेको भन्दै हसनले बधाइ दिएका थिए ।

नेपालमाला
