कतार : फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा इक्वेडरले सानदार जित निकालेको छ । अल बायत रंगशालामा आइतबार राति भएको समूह ‘ए’ को खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोलले पराजित गरेको हो ।
विश्वकप फुटबलको उद्घाटन खेलमा इक्वेडरलाई प्रभावशाली जित दिलाउन कप्तान इनर भ्यालेन्सियाले दुवै गोल गरेका थिए । खेलको १६औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुवाती अगता दिलाएका थिए । कतारका गोलरक्षक साद अब्दुल्लाह अल सेहवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसलाई भ्यालेन्सियाले सदुपयोग गरेका थिए । त्यसअघि भ्यालेन्सियाले तेस्रो मिनेटमै गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएपछि इक्वेडरले सुरुवाती गोलका लागि १६औं मिनेटसम्म कुर्नुपरेको थियो ।
त्यसपछि खेलको ३२औं मिनेटमा हेडमार्फत भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडर २–० को अग्रता दिलाएका थिए । उनले एन्जेलो प्रिसिएडोको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफमा कतारले सुधारिएको प्रदर्शन गरे पनि गोल भने गर्न सकेन । कतारले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा घरेलु दर्शकलाई निरास बनाएको थियो । इक्वेडरले पनि लगातार आक्रमण बुने पनि गोल थप्न सकेन ।
कतारले आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेलेको हो । सन् २०१९ मा एएफसी एसियन कपको विजेता बन्नु नै कतारको अहिलेसम्मकै ठूलो सफलता हो । एसियाको पावर हाउस जापानलाई हराउँदै एसियन कपको उपाधि जितेको थियो । विश्व प्रसिद्ध अस्पाएर एकेडेमीबाट खेलाडी उत्पादन थालेको कतारले स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा उच्च प्रदर्शन गरे पनि इक्वेडरविरुद्ध भने प्रभावशाली प्रदर्शन गर्न सकेन । कतारले विपक्षी पोस्ट्मा आक्रमण बुन्नुभन्दा पनि इक्वेडरको आक्रमण विफल पार्नमै व्यस्त बनेको थियो । अल बायत कतारका लागि भाग्यशाली रंगशाला मानिए पनि आइतबार राति प्रभावशाली प्रदर्शन गर्न सकेन । यस रंगशालामा कतारले पछिल्लो तीन खेलमै जित निकालेको थियो ।
विश्वकपमा इक्वेडरको चौथो सहभागिता हो । पहिलो खेलमै प्रभावशाली जित निकाल्दै इक्वेडरले समूह चरण पार गर्ने सम्भावना पनि बलियो बनाएको छ । समूह ‘ए’मा कतार र इक्वेडरसँगै नेदरल्यान्ड्स र सेनेगल छन् । सन् २००६ मा दोस्रो चरण पुग्नु नै इक्वेडरको अहिलेसम्मकै ठूलो सफलता हो । यस्तै सन् १९५९ र १९९३ मा कोपा अमेरिकामा इक्वेडरले चौथो स्थान हासिल गरेको थियो ।
Previous Article
काठमाडौं उपत्यकाको मतगणना आज रातिदेखि
Next Article

नेपालमाला
