कतार : विश्व फुटबलको महाकुम्भ मानिने विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु हुँदैछ । करिब एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना हुँदैछ । ६० हजार क्षमताको रंगशालामा विभिन्न देशका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिने छन् । जसमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्येका जंग कुकले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने छन् । यस्तै कोलम्बियाकी रक स्टार साकिरा, जे बल्विन, साँगीतिक समूह ब्ल्याक आइड पिज, रोवि विलियम्स, लिल बेबी र भारतीय अभिनेत्री नोरा फतेहीले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने छन् । कोलम्बियन रक स्टार साकिराले सन् २०१० को विश्वकपको आधिकारिक गीत ‘वाक वाक’ गाएकी थिइन् ।
फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । तर, अल्कोहलमुक्त बियर भने विश्वकपको ६४ वटै खेलमा रंगशालामा बिक्री गरिने जनाएको छ । विश्वकप हेर्न टिकट काटेकाहरुले अल्कोहल नभएको बियर किन्न पाउने छन् । स्याम्पेन, वाइन, ह्विस्कीलगायतका मदिरा भने रंगशालाको ‘लक्जरी आतिथ्य क्षेत्र’मा पिउन पाइने छ ।
उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दै छन् । कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ भने इक्वेडरको भने चौथो सहभागिता हो । सन् २०१९ मा एएफसी एसियन कपको विजेता बन्नु नै कतारको अहिलेसम्मकै ठूलो सफलता हो । एसियाको पावर हाउस जापानलाई हराउँदै एसियन कपको उपाधि जितेको थियो । विश्व प्रसिद्ध अस्पाएर एकेडेमीबाट खेलाडी उत्पादन थालेको कतारले स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ । समूह ‘ए’मा इक्वेडर, नेदरल्यान्ड्स र सेनेगलविरुद्ध टोलीको आक्रमणभन्दा डिफेन्सको परीक्षा धेरै हुनेछ । अल बायत कतारका लागि भाग्यशाली रंगशाला पनि हो । यस रंगशालामा कतारले पछिल्लो तीन खेलमै जित निकालेको छ । त्यो पनि ९–० को औसतमा ।
इक्वेडरको भने विश्वकपमा चौथो सहभागिता हो । सन् २००६ मा दोस्रो चरण पुग्नु नै इक्वेडरको अहिलेसम्मकै ठूलो सफलता हो । यस्तै सन् १९५९ र १९९३ मा कोपा अमेरिकामा चौथो स्थान हासिल गरेको थियो । अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो अल्फारोको प्रशिक्षणमा इक्वेडरले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ । सन् २०२० को अगस्टमा योर्डी क्राएफलाई स्थानान्तरण गर्दै अल्फारो इक्वेडरको प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा इक्वेडरले अर्जेन्टिना र ब्राजिललाई घरेलु भूमिमा रोक्दै कतार विश्वकपका लागि छानिएको थियो । इक्वेडर २०२१ को कोपा अमेरिकामा एउटै खेल नजिते पनि क्वार्टरफाइनल पुगेको थियो ।
पछिल्लो फिफा वरीयता अनुसार इक्वेडर ४४औं स्थानमा छ । कतार भने इन्वेडरभन्दा ६ स्थानमाथि ५०औं स्थानमा छ । चौथोपल्ट विश्वकपमा छनोट भएको इक्वेडरलाई समूहमा ‘अन्डर डग’ मानिएको छ । कतार र इक्वेडरले अहिलेसम्म जम्मा तीन खेल खेलेका छन् । जसमा दुवै टोलीले एक÷एक खेल जितेका छन् भने एउटा खेल बराबरीमा टुंगिएको छ ।
Previous Article
प्रधानमन्त्री देउवाले गरे डडेल्धुरामा मतदान
Next Article

नेपालमाला
