काठमाडौं : नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय शृंखला जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा निर्णायक खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले शृंखला २–१ ले जितेको हो ।
यूएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको हो । नेपालको जितमा आसिफ सेखले ८८ रन बनाए । यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ६४, कप्तान रोहित पौडेलले १० र अर्जुन साउदले नौ रन बनाए । यूएईका हजरात बिलाल र आयन अफजल खानले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । यूएईका लागि आयन अफजल खानले अविजित ५४ रनको अर्धशतकीय पालि खेले । यस्तै हजरात बिलालले अविजित २० रन बनाए । ९३ रनमा ९ विकेट गुमाएको यूएईका लागि आयन र हजरातले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा अन्तिम विकेटका लागि अहिलेसम्म भएको सबैभन्दा ठूलो कीर्तिमानी साझेदारी हो ।
यूएईका अलिशन शराफुले ३३, रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले दुई/दुई विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले एक/एक विकेट हात पारे ।
शृंखलाको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा नेपालले तीन विकेटको जित हासिल गरेको थियो ।

नेपालमाला
