पोखरा : दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित बिहीबार नवौं संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार समापन भएको राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा प्रतिस्पर्धा भएको थियो। राष्ट्रिय खेलकुद परिषद्को केही व्यवस्थापकीय कमजोरीका बाबजुद् नवौं राष्ट्रिय खेलकुदले केही आशालाग्दा खेलाडीहरू जम्माउन सफल भयो। उनीले यस पटक उत्कृष्ट प्रदर्शन मात्रै गरेनन्, नवौं राष्ट्रिय खेलकुदलाई पनि यादगार बनाए।
डुवाना लामा : पौडी
दुवाना लामा लामो समयसम्म जलपरी गौरिका सिंहको छायामा परेकी खेलाडी हुन् । आठौं राष्ट्रिय खेलकुद होस् वा १३औं दक्षिण एसियाली खेलकुद गौरिकाले स्वर्ण जित्दै गर्दा उनलाई उनै डुवानाले पछ्याउने गरेकी थिइन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी गौरिकाले स्वास्थ्यका कारण केही इभेन्टमा मात्रै प्रतिस्पर्धा गर्दा डुवानाले गौरिकाको बिडो मात्रै थामिनन् । सर्वाधिक नौ स्वर्ण जित्दै आर्मीलाई पनि अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन् । डुवानाले नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक ९ स्वर्ण जित्न सफल भइन्। उनले थप एक रजत गरी कुल १० पदक हात पारिन्। पोखराको फिस्टेल एकेडेमीमा डुवानाले पाँच राष्ट्रिय कीर्तिमान समेत बनाउन सफल भइन्। यसपटक गैरआवासीय नेपाली टिमबाट खेलेकी अमेरिकाकी एस्ले सापकोटा डंगोलले पनि गौरिकालाई पछि पारिन्। एक इभेन्ट्समा गौरिकालाई पछि पारेर स्वर्ण जितेकी एस्लेले ६ स्वर्ण र २ रजत हात पारिन्। गौरिकाले ५ स्वर्ण र १ रजत जितिन्। पुरूषतर्फ आर्मीका नासिर हुसेनले पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, २ रजत र १ कास्य गरी कुल १० पदक जिते। समग्र प्रदर्शनको आधारमा डुवानाको प्रदर्शन उत्कृष्ट थियो। पाँच कीर्तिमान समेत बनाएकी डुवाना नवौंमा सर्वाधिक ९ स्वर्ण जितेर स्टार खेलाडी बन्न सफल भइन्।
जयरानी थारू : एथलेटिक्स
एथलेटिक्स खेलाडी जयरानी थारूले नवौंमा उत्कृष्ट प्रदर्शन गर्ने अर्की खेलाडी हुन्। आफूले भाग लिएका व्यक्तिगत तीन एभेन्ट्समा स्वर्ण मात्र जितिनन्, तीनैमा राष्ट्रिय कीर्तिमान समेत बनाइन्। नेपाली एथलेटिक्सको आशालाग्दी खेलाडीको रूपमा उदाएकी २१ वर्षीया आर्मीकी धाविका जयरानीले थप दुई स्वर्ण गरी कुल पाँच स्वर्ण जित्न सफल भइन्।
चार सय मिटर हर्डल्स, लङजम्प, सय मिटर हर्डल्समा राष्ट्रिय रेकर्डसहित स्वर्ण जित्दा चार गुणा सय मिटर रिले र चार गुणा चार सय मिटर रिलेमा गरी कुल पाँच स्वर्ण जितिन्। उनी नवौं संस्करणमा एथ्लेटिक्सको महिलातर्फ उत्कृष्ट खेलाडीसमेत बन्न सफल भइन्। एथ्लेटिक्सको आकर्षण बनेकी जयरानीको अबको लक्ष्य देशलाई अब अन्तर्राष्ट्रिय पदक दिलाउने छ।
राष्ट्रिय खेलकुदमा जयरानीको तेस्रो सहभागिता हो । विद्यालयस्तरीय, राष्ट्रपति रनिङ सिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगितामा अब्बल प्रदर्शन गरेकी उनी २०७३ मा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी भएकी थिइन् । त्यतिबेला राष्ट्रिय खेलकुदको अनुभव बटुलेकी उनले २०७६ मा प्रदेश ५ भएको आठौं राष्ट्रिय प्रतियोगितामा तीन वटा रजत पदक जितेकी थिइन् । आठौं राष्ट्रिय खेलकुदमा विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गरेर रजत पदक जितेकी उनले यस पटक आर्मीकै जर्सीमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।
शिवराज पार्की : एथलेटिक्स
सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ३० वर्षीय धावक शिवराज पार्की नेपालको नयाँ स्प्रिन्टरको रूपमा उदाए। उनले राष्ट्रिय खेलकुदमा पहिलो पटक सय मिटर र दुई मिटर दौडमा स्वर्ण जित्न सफल भए। यस्तै उनले चार गुणा सय मिटर रिले पनि स्वर्ण जिते। चार गुणा चार सय मिटर रिलेमा रजत जितेका उनले तीन स्वर्ण र एक रजत गरी कुल चार पदक आफ्नो पोल्टामा पारे। यसअघि उनी आठौं राष्ट्रिय खेलकुदमा पनि यी इभन्ट्समा भिडेका थिए। तर उनी व्यक्तिगत स्पर्धामा रजतमा सीमित हुन परेको थियो। आफ्ना दाइ गोपीचन्द्र पार्कीको प्रेरणाले धावक बनेका शिवराजको अबको लक्ष्य कीर्तिमानसहित नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने छ। उनी एथ्लेटिक्सको पुरूषतर्फ उत्कृष्ट खेलाडी घोषित भए।
राजु राई :जिम्नास्टिक
त्रिभुवन आर्मी क्लबका राजु राईले जिम्नास्टिकको व्यक्तिगत ६ विधामध्ये ५ विधामा स्वर्ण जिते। एउटा विधामा भने रजत जितेका उनले टिम र सर्वोत्कृष्ट गरी थप दुई स्वर्ण पनि थापे। राजुले नवौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण र १ रजत गरी कुल ८ पदक आफ्नो कब्जामा पारे। २०७३ को सातौं राष्ट्रिय खेलकुदमा पनि उनले ७ स्वर्ण जितेका थिए। आठौंमा इभेन्ट्स घटाइएका कारण उनीले ५ स्वर्ण मात्र जित्न सके। नवौंका लागि उनले धित मरून्जेल अभ्यास नगरी प्रतिस्पर्धामा भाग लिएका थिए। जिम्नास्टिक संघको त्रिपुरेश्वरको हलमा अभ्यास गर्ने पर्याप्त सामग्री नभएका कारण उनी आफ्नै पैसाले सामग्री खरिद गरेर अभ्यास गर्न बाध्य भए। उनी बडीबिल्डर खेलाडी पनि हुन्। केही महिनाअघि माल्दिभ्समा भएको एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा फिटनेस फिजिक्समा उनले कास्य पदक जितेका थिए।
तारादेवी पुन : भारोत्तोलन
नेपाल पुलिस क्लबकी खेलाडी तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदमा इतिहास रचिन्। उनले २०५४ सालदेखिका ६ संस्करणका राष्ट्रिय खेलकुदमा भाग लिँदै सबै संस्करणमा स्वर्ण जित्दै कीर्तिमान बनाइन्। १६ वर्षको उमेरदेखि राष्ट्रिय खेलकुद खेल्न थालेकी ताराले यसपटक छैटौं पटक राष्ट्रिय खेलकुदमा भाग लिइन्।
ताराले २०५४ सालमा १६ वर्ष उमेरमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा भलिबलबाट स्वर्ण जितेकी थिइन्। त्यतिबेला उनले पश्चिमाञ्चलको भलिबल टिमबाट खेलेकी थिइन्। त्यसपछि भने उनी भारोत्तोलनमा प्रवेश गरेकी थिइन्। उनले २०६५ सालमा काठमाडौंमा भएको पाँचौं, २०६८ मा धनगढीमा भएको छैठौं, २०७३ मा विराटनगरमा भएको सातौं र २०७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेर कीर्तिमान बनाइकी थिइन्।
पोखराको उद्योग वाणिज्य संघको हलमा भएको नवौंको प्रतिस्पर्धामा ताराले ऐतिहासिक स्वर्ण जित्ने क्रममा तीन वटा राष्ट्रिय कीर्तिमान समेत आफ्नो नाममा लेखाउन सफल भइन्। उनले क्लिन एन्ड जर्कमा १०२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्। यस्तै ताराले स्न्याचमा ७० केजी उचालेर अर्को राष्ट्रिय कीर्तिमान बनाइन्। कुल १७२ केजीका साथ उनले तेस्रो कीर्तिमान बनाइन्। यससँगै उनी फेरि एकपटक नेपालकै सबैभन्दा बलियो महिला बन्न सफल भइन्।

नेपालमाला
