काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।
प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।
९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।
पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भने, ‘सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा छ ।’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको अनलाइनखबरलाई बताएका छन् ।
सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ । यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।

नेपालमाला
