काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन्। चुनाव भएको १३औं दिन बिहीबार साँझ सकिएको मतगणनाअनुसार बालेन ६१ हजार ७ सय ६७ मत ल्याएर मेयरमा निर्वाचित बनेका हुन्।
स्वतन्त्र उम्मेदवार उनले कांग्रेसकी सिर्जना श्रेष्ठ र एमालेका केशव स्थापितलाई धेरै मत अन्तरले पराजित गरे। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले ३८ हजार ३ सय ४१ र एमालेका केशवले ३८ हजार १ सय १७ मत ल्याए। मत गणनाको सुरुवातबाटै अघि बढेका बालेन कुनै वडाको गणनामा पनि पछि परेनन्।
उपमेयरमा एमालेबाट निर्वाचित बनेकी सुनिता डंगोलले ६८ हजार ६ सय १२ मत ल्याइन्। उनले प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको भन्दा दोब्बर बढी मत ल्याइन्। रामेश्वरले २३ हजार ८ सय ६ मत मात्रै प्राप्त गरे।
मतगणना सकिएर परिणामसमेत आयोगको आधिकारिक वेबसाइटमा राखे पनि घोषणा भने गरिएको छैन। मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले मतपरिणाम शुक्रबार बिहानमात्रै घोषणा गर्ने जनाएको छ। आयोगसँग परामर्श गरेर बिहान ६ बजेमात्रै औपचारिक रूपमा अन्तिम मतपरिणाम सुनाउने निर्णय गरेको हो।
बिहीबार नै मतगणना सकिने भएपछि उम्मेदवारका समर्थक तथा नेता कार्यकर्ता राष्ट्रिय सभागृह पुगेका थिए। शुक्रबारनै खुलामञ्चमा मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको धन्यवाद सभासमेत राखिएको बताइएको छ। यसपटक महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह र सुमन सायमीसहित कांग्रेसकी सिर्जना सिंह, एमालेका केशव स्थापित, राप्रपाका मदनदास श्रेष्ठ प्रतिस्पर्धामा थिए। उपमेयरमा डंगोलसहित गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ र विवेकशील साझाबाट कीर्ति तुलाधर प्रतिस्पर्धामा थिए।
यसैबीच काठमाडौं महानगरका ३२ वडामध्ये नेपाली कांग्रेसले २० वडा जितेर बहुमत हासिल गरेको छ। त्यसैगरी ११ वडा जितेको नेकपा एमाले कमजोर बनेको छ। काठमाडौंमा १ वडा समाजवादीले जितेको छ।

नेपालमाला
