काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाको उम्मेदवारीमा शीर्ष नेताहरुबीच सहमति भइसकेको छ । कुनैबेला विद्यार्थी राजनीतिमा सक्रिय रहेकी सिर्जना वैवाहिक जीवनमा प्रवेश गरेसँगै सक्रिय राजनीतिको अग्रभागमा देखा परिनन् । लौहपुरुष गणेशमान सिंहको परिवारमा बुहारीका रूपमा भित्रिएपश्चात सिर्जनाले ससुरा गणेशमान, सासु मंगलादेवी र श्रीमान् प्रकाशमानको सक्रिय राजनीतिमा महत्वपूर्ण सारथीको भूमिका निर्वाह गरिन् ।
कुनैबेला शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्षमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी सिर्जना गोरखामा बहुदल प्रचार महिला समितिको संयोजक नै रहेकी थिइन् । नेविसंघको सक्रिय राजनीतिको पृष्ठभूमि भएकी सिर्जना अब पार्टीको सक्रिय राजनीतिमा पाइला चाल्दैछिन् ।
काठमाडौं क्षेत्र नम्बर ७ बाट १४ औं महाधिवेशनमा निर्विरोध महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी सिर्जनाको नजर अब काठमाडौं महानगरपालिकाको मेयरतर्फ छ । काठमाडौंमा सिंह परिवारको राजनीतिक शक्ति बुझेकाहरू ‘चाहेकै भए सिर्जना मेयर हुने’ ठोकुवा गर्छिन् । सामाजिक सञ्जालमा सिर्जनाको गतिविधि र अभिव्यक्ति हेर्दा महानगरको मेयर हाँक्न उनले कम्मर कसेको तथ्य स्वतः पुष्टि हुन्छ ।
गत चैत २२ गते नेपाल महिला संघ काठमाडौं जिल्ला समितिको बैठकले सिर्जना सिंहलाई काठमाडौंको मेयर बनाउनुपर्ने सर्वसम्मत निर्णय गरिसकेको छ । महिला संघकी जिल्ला अध्यक्ष विष्णुदेवी पुडासैनी महानगरको नेतृत्व लिन महिलाहरू सक्षम रहेको र सिर्जना सिंह त्यसका लागि उपयुक्त पात्र भएको दाबी गर्छिन् ।
‘हामी राजनीतिक नेतृत्वमा महिलाहरू स्थापित हुनुपर्छ भन्ने अभियानमै छौं । काठमाडौंजस्तो देशकै सबैभन्दा ठूलो महानगरमा महिलालाई नेतृत्व दिँदा कांग्रेसका लागि पनि राम्रो हुन्छ । त्यसैले हामीले सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाउन पार्टी नेतृत्वसँग माग गरेका हौं’, पुडासैनीले नेपाल प्रेससँग भनिन् ।
महिला संघको जिल्ला समितिले सिर्जनालाई भेटेरै काठमाडौंको मेयरको उम्मेदवार बन्न आग्रह गरिसकेका छन् । उनीहरूसँगको भेटमा सिर्जनाले आफू नेविसंघ र महिला संघको राजनीतिक पृष्ठभूमिबाट आएको भएपनि महानगरकै मेयर लड्नेबारे सोचिनसकेको बताएकी थिइन् । यद्यपि ट्वीटरमा आफूलाई मेयर लड्न आग्रह गरिएको बारेको समाचार सेयर गर्दै सिर्जनाले उपयुक्त परिस्थिति बने अगाडि बढ्ने संकेत गरिसकेकी छिन् ।
गणेशमानकी बुहारी, प्रकाशमानकी श्रीमती, खोज्दैछिन् व्यक्तिगत पहिचान
नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंह परिवारको योगदान चानचुने छैन । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमानको चाक्सीबारीस्थित निवासकै आँगनबाट २०४६ सालको जनआन्दोलन घोषणा गरिएको थियो । चाक्सीबारीमा बुहारीका रूपमा भित्रिएपछि सिंह परिवारको पहिचान मिल्नु स्वभाविक नै हो । तर, त्यतिले मात्रै सिर्जनाको राजनीतिक योगदानलाई समेट्दैन ।
विद्यार्थी राजनीतिदेखि नै आफूले देखाएको सक्रियता र योगदानका आधारमा सिर्जनाले पहिचान खोजेकी छिन् । ‘म सिंह परिवारको बुहारी त हुँ तर राजनीतिमा त म पहिलेदेखिनै सक्रिय हुँ । कसैको बुहारी वा श्रीमती भएका कारण होइन राजनीतिमा मेरै योगदानका कारण स्थापित हुन चाहन्छु’, निकटस्थहरूसँग सिर्जनाले भन्ने गरेकी छिन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय देखिने सिर्जनालाई धेरै शुभचिन्तकहरूले आफ्नै बुतामा अगाडि आउन सुझाव पनि दिने गरेका छन् । कांग्रेसको काठमाडौं महानगरका सचिव सुसन वैद्यले ‘मंगलादेवी र सिर्जनालाई नेता पत्नी मात्रै सम्झनु राजनीतिक महिला हिंसा भएको’ ट्वीटरमै लेखेका छन् । ट्वीटरमै अप्रिल केसीले सिर्जनालाई मेन्सन गर्दै लेखेका छन्- राजनीतिक योगदान नै नभएको होइन, उहाँ हामी सबैको अभिभावक हो ।
यस्तो छ अंकगणित
अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसले जितेका थिए । मेयरमा एमालेमा विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।
मेयरमा राप्रपाले एमालेलाई र उपमेयरमा एमालेले राप्रपालाई सघाएका थिए । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले मेयरमा ७ हजार ९ सय ६ मत ल्याएका थिए ।
अबको निर्वाचनमा चुनावी तालमेल हुँदा कांग्रेस, माओवादी र एमालेबाट विभाजित समाजवादीको मतले जित निश्चित हुने कांग्रेसको बुझाई छ । यद्यपि केही स्वतन्त्र उम्मेदवारहरूले कसको कति मत काट्छन् भन्ने विषयले पनि परिणाममा फेरबदल हुनसक्छ । किनकी अघिल्लो चुनावमा रन्जु दर्शना र किशोर थापाले ४२ हजार मत ल्याएका थिए ।
बाँकी महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो लगाउँन केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । शीर्ष नेताहरुको बैठकमा बिराटनगर र ललितपुरको मेयरबारे टुंगो लाग्न सकेको छैन । अन्य दलले मेयर पाएका पोखरा,वीरगन्ज र भरतपुरको उपमेयरमा पनि आकांक्षीहरुको ठूलो संख्या रहेकाले नेताहरु आन्तरिक छलफलमा छन् । काठमाडौंको हकमा भने प्रकाशमानले नै अन्य आकांक्षीहरु मिलाएपछि सहज भएको नेताहरुले बताएका छन् ।

नेपालमाला
