काठमाडौं : थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । थाइल्यान्डको चोनबरीमा बिहीबार भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोलले पराजित गरेको हो । थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले एक÷एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थाइल्यान्डले दुवै गोल गरेको थियो । फिलिपले ७८औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि चाओवाटले ८९औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई २–० को जित दिलाएका थिए ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलेको हो । नेपालले थाइल्यान्डको चोनबरी एफसी क्लबसँग आइतबार मैत्रीपूर्ण खेल खेल्नेछ ।
एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । जुन १४ मा नेपाल र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
Previous Article
पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग
Next Article

नेपालमाला
