काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । युएईको सारजाहमा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ । नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ । दुबै खेलमा नेपालले जित निकालेको छ । जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।
नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो । तर, नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो । जसमा नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो ।
लिग–२ मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ ।नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग–२ मा ७ टिम सहभागि रहेका छन् ।

नेपालमाला
