काठमाडौं : नेपाल निर्माण व्यवासयी महासंघमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ । फागुन २७ र २८ गते हुने २३ औं साधारणसभाबाट चुनिने नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले खुलेरै प्रचारप्रसार गरिरहेका छन् । यसैगरी हुमनाथ कोइराला र रामशरण देउजाले पनि तयारी थालेका छन् ।
सिंह, कोइराला र देउजा नेपाली कांग्रेसनिकट व्यवसायी हुन् । उनीहरुमध्ये अहिलेको अवस्थामा सिंहले नै पार्टीको समर्थन पाउने सम्भावना प्रबल भएको महासंघमा चर्चा चल्ने गरेको छ।
पाण्डेलाई भने नेकपा एमालेनिकट व्यवसायीको समर्थन रहने स्रोतको दाबी छ । निर्माण व्यवसायीको क्षेत्रमा नेकपा एमालेका ठूला व्यवसायीहरु धेरै छैनन् । तर, नेपालको समग्र निर्माण क्षेत्रमा भने एमाले सर्मथित ३० प्रतिशत निर्माण व्यवसायी छन् ।
अध्यक्षका दावेदार सिंहको महादेव खिम्ती निर्माण सेवा कम्पनी छ भने पाण्डे कालिका कन्ट्रक्सनका मालिक हुन् । हुमनाथ कोइरालाको निकोइ बिल्डस् र रामशरण देउजाको कारकोमल निर्माण कम्पनी छ ।
यसअघिको निर्माण व्यवसायी महासंघको चुनावमा दुईवटा प्यानल नै बनेको थियो । अहिले पनि पाण्डे र सिंहले भित्रभित्रै आफ्नो प्यानल बनाएर प्रचारप्रसार गरिरहेका छन् । तर, प्यानल घोषणा भने भइसकेको छैन । अन्य दुई जना उम्मेदारले पनि भित्रभित्रै आफ्नो पक्षमा माहोल बनाउने काम गरिरहेका छन् । सिंह कांग्रेसको गत महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए । कांग्रेसका नेता सिंहले महाधिवेशनमा जित भने हासिल गर्न सकेनन् ।

हालका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार पाण्डे राप्रपाका नेता विक्रम पाण्डेका छोरा हुन् । लामा कन्ट्रक्सन, तुन्दी कन्ट्रक्सन, स्वच्छन्द कन्ट्रक्सन, रमण कन्ट्रक्सन, रसुवा कन्ट्रक्सन, अनक कन्ट्रक्सन, शर्मा एन्ड कम्पनी, कालिका कन्ट्रक्सन, लुम्बिनी कन्ट्रक्सन र विरोध कन्ट्रक्सन महासंघका निर्णायक कम्पनी हुन् ।
यीमध्ये पनि स्वच्छन्द कन्ट्रक्सन, रमण कन्ट्रक्सन, शर्मा एन्ड कम्पनी, कालिका कन्ट्रक्सन, लामा कन्ट्रक्सन, तुन्दी कन्ट्रक्सन, रसुवा कन्ट्रक्सनले जसलाई समर्थन गर्यो, उसैले जित्ने जस्तो नजीर छ ।
यसपटक ठूला निर्माण कप्पनीको साथ पाण्डेले पाएका छन् । यसभन्दा अघि पनि पाण्डे अध्यक्षमा उठ्न लागेका थिए । अर्कोपटक अध्यक्षमा सहयोग गर्ने भनेपछि उनी वरिष्ठ उपाध्यक्ष हुन राजी भएका थिए ।

नेपालमाला
