काठमाडौं : नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । टीट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।
नेपाललाई हराउँदै यूएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । यूएई अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ । यूएईले फाइनलमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८.४ ओभरमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे । विवेक यादव ८, कुशल भुर्तेल ७, जितेन्द्र मुखिया ५, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।
अविनाश बोहरा १ रनमा अविजित रहदा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेकोयूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
यूएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे ।
जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३र३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

नेपालमाला
