काठमाडौं : राष्ट्रिय सभाका १९ पदका लागि आज निर्वाचन हुँदै छ । सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन समाप्त भए लगत्तै आजै मतगणना हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार राति ११ बजेसम्म मतपरिणाम सार्वजनिक हुने सम्भावना छ ।
“आयोगले मतपरिणाम अबेर रातिसम्म आजै आउने अपेक्षा गरेको छ । कुनै असहजता नभएमा बढीमा ११–१२ बजेसम्म मतपरिणाम आइसक्ने अपेक्षा छ,” उनले भने ।
राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार आज निर्वाचन हुन लागेको हो । संघीय संसदमा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उमेदवार चुनावी मैदानमा छन् ।
यो निर्वाचनमा निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका गरी दुई हजार २५ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ ।

नेपालमाला
